जसले उच्च शिक्षा हासिल गर्न पाएनन्, तर, अरुलाई पढाउन एक्लैले एक करोड संकलन गरे

चितवन, २८ वैशाख । चितवनका सामाजिक अभियन्ताका रुपमा परिचित छन् खैरहनी नगरपालिका पर्साका मुरली प्रसाद गजुरेल । शैक्षिक क्षेत्र उनको योगदान उच्च छ । उनले आफुले पढ्न पाएनन् तर अरुलाई पढाउनकै लागि उनी दिनरात नभनी खटिरहेका छन् । एसएलसी पनि उत्तिर्ण गर्न नपाएका गजुरेल अहिले कक्षा ११ र १२ का गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्न तल्लिन छन् । गजुरेलको एक्लो प्रयासमा खैरहनी माध्यमिक विद्यालयमा जन्मोत्सव तथा स्मृती छात्रवृत्ति अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । 

वि.स. २०६७ सालमा कोष स्थापना गरेका उनले १ करोड रुपैया संकलन गरिसकेका छन् । यसमा उनी एक्लै खटिएका छन् । कोषमा देश विदेशबाट कुनै शुभकार्य, पुण्यतिथी लगायतको अवसर पारेर रकम सहयोग हुदै आएको छ । विषेश गरी उनले जन्मदिनको अवसर पारेर धेरै रकम संकलन गरेका छन् । कोषमा १ हजार देखी माथी सहयोग हुदै आएको छ । जन्मदिनको अवसरमा एक हजार रुपैया लिन उनी आफै मोटरसाईकलमा आफ्नै खर्चमा हेटौडा र नवलपरासी सम्म पुग्ने गरेका छन् । 

 

null

आफुले उच्च शिक्षा हासिल गर्न पाईएन् गजुरेल भन्छन् –‘आर्थिक अवस्थाकै कारण कुनै पनि वालवालिका पढाईबाट वञ्चित नहोस भनेर कोष स्थापना गरेको हुँ, त्यही कोषबाट विद्यार्थीले पढ्न पाएका छन् ।’ आर्थिक अभावकै कारण उनी पढाईलाई बीचैमा छाडी खाडी मुलुक पस्नु समेत पर्यो । साउदी अरवमा उनले करिव ६ वर्ष काम गरे । साउदीबाट थोरै भएपनि कमाएर ल्याएको पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिए । दुई छोराहरु अहिले अष्ट्रेलियामा वस्दै आएका छन् । पछि आर्थिक अवस्था पनि राम्रो भयो तर उनलाई मनमा खड्किरहन्थ्यो, पैसाकै कारण कसैले पढ्न त पाएका छैनन् भन्ने । त्यही सोचका साथ उनले वि.सं. २०६७ सालमा खैरहनी माध्यामिक विद्यालयमा आफैले ५ हजार रुपैया संकलन गरेर कोष स्थापना गरे । त्यसपछि उनी दिनरात कोषकै लागि भौतारिइरहे । केहीले त उनलाई पागल समेत भन्न भ्याए । 

आफुले पढ्न नपाएको पीडा छँदै थियो, त्यही पीडाबाटै विद्यार्थी पढाउन कोष स्थापना गरे गजुरेलले भने –‘कोषका लागि पैसा संकलन गर्न भौतारिँदा केहीले पागल समेत भने त्यसलाई मैले इगोको रुपमा लिईन्, आफ्नै सुरमा अगाडी वढे अहिले सफल पनि भएको छु ।’ हाल उनी पारिवारीक भेटघाटका लागि अष्ट्रेलियामा छन् । त्यहीबाट उनले रकम संकलन गरिरहेका छन् । पछिल्लो केही महिना यता देश तथा विदेशबाट ७१ जनाले गरेको सहयोग २ लाख ३७ हजार रुपैया कोषमा जम्मा भएपछि १ करोड नाघेको कोषका अध्यक्ष समेत रहेका गजुरेलले जानकारी दिए । 

हाल सम्म छात्रवृत्तिमा १९ लाख १८ हजार रुपैयाले ६ सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सामाजिक क्षेत्रमा क्रियाशिल रहेकै कारण उनले राष्ट्रियस्तरमा समेत सम्मानित भईसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *