खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा (बाँके) । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।

गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो ।

अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी नाला क्षेत्रमा कुनै अवरोध आए पनि अब आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक प्रयोग गरी नेपालगञ्ज–गुलरिया सहज रूपमा आवतजावत गर्न सकिने भएको छ ।

प्रदेश सरकारको रु. छ करोड १० लाख ९० हजार २८६ को लागतमा पुल निर्माण सम्पन्न भएपछि खजुरा बजार क्षेत्रको मुख्य सडकको वैकल्पिक मार्गका यो सडक निर्माण भएको हो ।

खजुरा गाउँपालिकाका आठवटै वडाका गाउँहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, प्रत्येक टोलमा कालोपत्रे सडक विस्तार गरी ‘धुलोरहित गाउँ’ निर्माण गर्ने तथा ढल र नालाको निर्माण तथा स्तरोन्नति गरी उचित पानी निकासको व्यवस्था गर्दै ‘डुबानमुक्त गाउँ’ बनाउने लक्ष्यसहित गाउँपालिकाले काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 12 =