मानसिक स्वास्थ्यलाई बेवास्ता गर्दा मानिसको जीवनमा कस्तो असर पर्न सक्छ?

काठमाडौँ। मानसिक स्वास्थ्यको समस्या अहिले विश्वभर बढ्दो जनस्वास्थ्य चुनौतीका रूपमा हेरिन थलिएको छ । विशेषज्ञहरूका अनुसार मानसिक तनाव वा मानसिक रोगले केवल प्रभावित व्यक्तिलाई मात्र होइन, उसको परिवार, कार्यस्थल, साथीभाइ र समाजलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर गर्न सक्छ ।

दैनिक जीवनमा हुने अत्यधिक तनाव, आर्थिक समस्या, पारिवारिक विवाद, सम्बन्धमा आएको उतारचढाव, रोजगारीको दबाब, शोक, आघातपूर्ण घटना तथा अन्य चुनौतीहरूले मानिसको मानसिक स्वास्थ्यमा असर पार्न सक्छ । समयमै ध्यान नदिँदा सामान्य तनाव नै चिन्ता, अवसादलगायत अन्य मानसिक स्वास्थ्य समस्यामा रूपान्तरण हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

मानसिक स्वास्थ्यमा समस्या देखिँदा व्यक्तिमा निरन्तर उदासी, अत्यधिक चिन्ता, सानो कुरामा पनि रिस उठ्ने, निद्रामा समस्या आउने, भोक कम वा बढी लाग्ने, काममा ध्यान केन्द्रित गर्न नसक्ने, पहिले रुचि भएका कामप्रति चासो घट्ने, सामाजिक रूपमा टाढिन खोज्ने तथा अत्यधिक थकान महसुस हुने जस्ता लक्षण देखिन सक्छन् । गम्भीर अवस्थामा जीवनप्रति निराशा बढ्ने वा आफूलाई हानि पुर्‍याउने सोचसमेत आउन सक्ने भएकाले यस्ता विषयहरूले गम्भीर रूप लिँदै गइरहेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO लगायत विभिन्न अध्ययनका अनुसार चिन्ता (एन्जाइटी) र अवसाद (डिप्रेसन) विश्वभर सबैभन्दा बढी देखिने मानसिक स्वास्थ्य समस्या हुन् । करिब १.१ अर्ब मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्यासँग बाँचिरहेका छन् । अर्थात्, विश्वका करिब प्रत्येक ७ जनामध्ये १ जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको तथ्यांक ले देखाउँछ ।

हरेक वर्ष विश्वभर ७ लाख २० हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेका, १५-२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको तेस्रो प्रमुख कारणका रूपमा रहेको छ भने, विश्वभर हुने कुल आत्महत्यामध्ये करिब ७३ प्रतिशत घटना न्यून तथा मध्यम आय भएका देशहरूमा हुने गरेको विभिन्न तथ्यांकले देखाएका छन् ।

मानसिक अवस्था अस्थिर हुँदा त्यसको प्रभाव सम्बन्धहरूमा पनि देखिन थाल्छ । परिवारमा अनावश्यक तनाव, वैवाहिक सम्बन्धमा दूरी, साथीभाइसँग वैमनस्यता , कार्यस्थलमा उत्पादकत्वमा कमी तथा सामाजिक सम्बन्ध कमजोर हुने अवस्था सिर्जना हुन सक्छ । कतिपय अवस्थामा समस्या मानसिक स्वास्थ्यसँग सम्बन्धित हुँदाहुँदै पनि त्यसलाई व्यक्तिको स्वभाव वा व्यवहारको दोषका रूपमा बुझ्ने प्रवृत्तिले समस्या झन् जटिल बन्ने गरेको छ ।

मानसिक स्वास्थ्य राम्रो बनाउन के गर्ने?

मानसिक स्वास्थ्य सुधारका लागि पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित व्यायाम, तनाव व्यवस्थापन, परिवार तथा साथीभाइसँग खुला संवाद र आवश्यक परे मनोवैज्ञानिक वा मनोचिकित्सकसँग परामर्श लिनु प्रभावकारी उपाय मानिन्छ । विशेषज्ञहरूका अनुसार लगातार दुई हप्ता वा सोभन्दा बढी समयसम्म मानसिक स्वास्थ्यसम्बन्धी लक्षण देखिए वा दैनिक जीवनमा स्पष्ट असर परेमा स्वास्थ्यकर्मीसँग परामर्श लिन ढिलाइ गर्नु हुँदैन ।

यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्न संघ, प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा बसेको बैठकले विद्यालयदेखि समुदाय स्तरसम्म मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, मानसिक स्वास्थ्य हटलाइन ११६६ र हेलो स्वास्थ्य १११५ को प्रचारप्रसार गर्ने तथा अनलाइन काउन्सेलिङ, सामाजिक सञ्जाल र अन्य माध्यमबाट जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लबलगायतका जनशक्तिलाई परिचालन गर्दै मानसिक स्वास्थ्य सेवालाई समुदायमा आधारित परामर्शसँग जोडिने मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा अभियानलाई थप प्रभावकारी बनाइने तयारी गरिएको छ ।

मानसिक स्वास्थ्यलाई लुकाउने वा लाजको विषय बनाउने होइन, समयमै पहिचान गरी आवश्यक सहयोग र उपचार लिनुपर्ने विषयका रूपमा समाजले बुझ्न आवश्यक रहेको विज्ञहरूको जोड छ । मानसिक रूपमा स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि मानसिक स्वास्थ्यप्रतिको चेतना र संवेदनशीलता बढाउनु आजको आवश्यकता बनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =