विष्णुपादुकामा पहिलाे पटक महिलाले सुरु गरे होम स्टे

चैत्र ९, धरान । सुनसरीको विष्णुपादुकामा होम स्टे सुरु भएको छ । धार्मिक पर्यटकीय क्षेत्रमा पहिलो पटक महिलाहरुले होम स्टे सुरु गरेका हुन् । बिष्णुपादुका मानेडाँडामा पुरानो तथा आदिवासी जनजाति मध्येको तामाङ जातिको ४४ घरमा तामाङ संस्कार संस्कृतिसँगै होम स्टे सञ्चालन गरिएको हो ।  

पर्यटकीय सहर धरानको उत्तर पश्चिम क्षेत्रमा छ मानेडाँडा गाउँ । धरान उपमहानगरपालिका वडा नं २० र साविकको बिष्णुपादुका गाबिसमा पर्ने मानेडाँडालाई तामाङ टोल भनिन्छ । यही गाउँका स्थानीय महिलाहरुको सक्रियतामा कोकाह कृषि सामुदायिक अर्ग्यानिक होमस्टे सञ्चालनमा गरिएको छ । 

मानेडाँडा पुग्न धरान चतरालाईन बसपार्कबाट १० किलोमिटरको यात्रा पार गर्नुपर्छ । पैदल हिँडने हो भने करिब डेढ घण्टामा मानेडाँडा पुग्न सकिन्छ । सर्दु खोलाको तीरैतीर करिब डेढ घण्टा हिँडेपछि मानेडाँडा पुगिन्छ ।  

null

 

मानेडाँडाबाट धरान हेर्दा यस्तो लाग्छ कि उफ्रेर एकचोटि धरान नै पुगौं । मानेडाँडाको मौसम न गर्मी न सितल सधैं एकनाश । त्यसमाथि यो क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रपनि भएकोले प्राकृतिक पर्यटनसँगै धार्मिक पर्यटन समेत गर्न सकिन्छ । पहाडको डाडैडाँडा, चिउरी भञ्ज्याङ, माछामारा डाँडा, जंगल अनि केही समथर फाँट हेर्दा स्वर्गको टुक्रा जस्तै छ मानेडाँडा ।  

मानेडाँडा तामाङ जातिको सघन बसोबास भएको गाउँ हो । प्राकृतिक सुन्दरतासँगै आदिवासी संस्कार संस्कृति मानेडाँडाको अर्को सुन्दरता हो । अर्ग्यानिक खाना, मौलिक परम्परा, सांस्कृतिक प्रस्तुति मानेडाँडाको विशेष आकर्षण रहेको कोकाह कृषि सामुदायिक अर्ग्यानिक होमस्टे की अध्यक्ष जुनुमती तामाङ बताउँछिन ।  

मानेडाँडामा आधुनिक होमस्टे २ महिना अघि मात्रै शुरू भएको हो । कोकाह कृषि सामुदायिक अर्ग्यानिक होमस्टेमा ४४ घरधुरीको बसोबास रहेको छ । त्यस मध्ये ९ घरधुरीमा मात्र होमस्टे सञ्चालन गरिएको छ । गाउँ ठूलो भएपनि हाललाई ९ वटा घरमा मात्रै होमस्टे सञ्चालन गरिएको अध्यक्ष जुनुमती तामाङले बताइन् ।  

 

नजिकै बिष्णुपादुका मन्दिर भएकोले यहाँ हरेक वर्ष कुशे औशीका दिन पितृ श्राद्ध गर्नेहरुको ठूलो मेला लाग्दछ ।  

यसैलाई मध्यनजर गरी मानेडाँडाका हरेक घरमा नियमित कोकाहा नदीको पानीको नुहाउने व्यवस्था समेत गरिएको छ । पाहुनालाई राख्न हरेक होम स्टेमा छुट्टै साना घरकोठा निर्माण गरिएका छन् । भने, शौचालयको उचिब व्यवस्था गरिएको छ ।  

मानेडाँडा होमस्टेमा बस्न प्याकेजको व्यवस्था छ । जहाँ प्रतिघरमा २ देखि ३ जना पाहुना आरामले बस्न सक्नेछन् । होमस्टे व्यवस्थापन समितिले आएका पाहुनालाई कहाँ पठाउने निर्णय लिन्छ । त्यसकै आधारमा होम स्टेमा पालैपालो बसाइन्छ । यसका अलावा पाहुनाहरूले आफनो इच्छाअनुसार पनि आफुले रोजेको घरमा बस्न पाउँछन् ।  

 

उक्त होमस्टेमा एक दिन बसेको प्याकेजमा प्रतिव्यक्ति साढे २ सय सेवा शुल्क लाग्छ । भने मासुभात लोकल कुखुरासँग २५० रुपैया, सादा खाना १५० रुपैया र लोकल कुखुराको मासुसँग ढिडो ३ सय रुपैंयामै उपलब्ध छ । यसका अलवा पर्यटकले लोकल मदीरा सेवन गरे त्यसको छुट्टै पैसा तिर्नुपर्छ । यहाँ कोदो, सिस्नु लगायतको लोकल मदिरा पाइन्छ । यसका साथै पर्यटकले आफ्नो इच्छा अनुसार भेज ननभेज अर्गानिक खाना खान सक्छन् । 

विष्णुपादुका वडा नं. २० की महिला वडा सदस्य फुलमाया तामाङले मानेडाँडाको प्राकृतिक सौन्दर्यलाई उपयोग गरी महिलालाई आत्मनिर्भर सँगै उद्यमशील बनाउन पर्यटन प्रवर्द्धनमा लागेको बताईन । होमस्टे भर्खरै शुरू गरिएकोले प्रचारप्रसार बिस्तारै हुन थालेको बताईन । प्रचारप्रसार बढेपछि पर्यटकहरूको आगमनमा पनि बृद्धि हुने तामाङको भनाई छ ।  

 

उनले तामाङ समुदायमा समयअनुसार भाषा र परम्परा परिवर्तन भएकोले जातिय संस्कृति अनुसार होम स्टे सञ्चालन गर्दा तामाङ समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने बताइन् । 

शनिबारको कार्यक्रममा धरान उपमहानगपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारी सुबेदी, पर्यटन शाखाका उप–संयोजक किशोर थुलुङ, अष्ट्रेलियन नागरिक मिस्टर बेरी, तामाङ समुदायका बिभिन्न ब्यक्तित्व, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।  

सोही अबसरमा कार्यबाहक नगर प्रमुख भण्डारीले कुनैपनि कार्यको सुरुवात गर्नुु नै ठुलो कुरा भएकाले मानेडाँडाका महिलाहरुले मात्रै सञ्चालनमा ल्याएको होम स्टेले धरानको पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने बताउदै सो क्षेत्रको विकासमा ध्यान दिने बताईन । 

 

भण्डारीले बिष्णुपादुकालाई बिशेष रुपमा बिकास गर्न बजेट समेत छुट्याउने बताईन । ‘यो क्षेत्रमा पर्यटन भित्र्याउने भुमिकामा पत्रकारहरुको कलम चल्नुपर्छ आवश्यक बजेट नगरले गर्नेछ ।’ उनले भनिन् । स्थानीयबासीले होमस्टेमा आउने पाहुनाहरूलाई लक्षित गरेर बेलुकी स्थानीय परम्परागत संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *