नेदरल्यान्ड पुगे बालसैनिक लेनिन विष्ट: प्रचण्डलाई कारवाही हुन सक्ने

काठमाडौं, १३ चैत्र । माओवादी हिंसात्मक युद्धको समयमा बालसेनाका रूपमा प्रयोग गरिएका लेनिन विष्ट नेदरल्यान्ड सरकारको विशेष आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन युरोप पुगेका छन् । कतार एयरबाट गत आइतबार राति अर्थात चैत ११ गते नेदरल्यान्डको तिलबर्गलाई गन्तव्य बनाएर यात्रामा निस्किएका हुन् । लेनिनलाई विमानस्थलमै रोक्न प्रयास गरिएको थियोे । तर, उनलाई बाहिर जान नदिन रामबहादुर थापाको गृह मन्त्रालयद्वारा जारी भएको नोटिस अध्यागमन विभागमा यथावत् भएकोले केहीबेरको छलफलपछि मात्र ‘जान दिने’ निर्णयमा अधिकारीहरू पुगेका थिए । 

नेदरल्यान्डस्थित एक विश्वविद्यालयको परिचयपत्र देखाएर आफू अध्ययनका लागि जान लागेको भनेपछि अध्यागमन अधिकारीहरूले ‘माथिको आदेश’मा लेनिनलाई बाहिरिन अनुमति दिएका थिए । अब लेनिनले युरोपियन युनियनको हेडक्वार्टरमा आयोजित बैठकमा भाग लिनेछन् । त्यस्तै, जर्मनीका सांसदहरूसँग उनको छुट्टै छलफल हुने बुझिएको छ । लेनिनको स्वीट्जरल्यान्डको जेनेभामा उच्च तहका मानव अधिकारकर्मी, सांसद, मन्त्रीलगायतसँग भेटघाट तथा छलफल कार्यक्रम तय भएको छ । 

 

null

तिलबर्गमा उच्च सरकारी अधिकारी, मानवाधिकारवादी अगुवा, विज्ञ र व्यावसायिक क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूसँगको छलफलमा लेनिनले भाग लिनेछन् । तीन महिनासम्म युरोपमा रहँदा लेनिनले माओवादीले बालबालिकाहरूलाई कसरी हिंसात्मक युद्धमा दुरुपयोग गरेका थिए, सम्झौतामार्फत उनीहरू सत्ता राजनीतिमा आइसकेपछि तीन हजारभन्दा बढी बालसेनालाई कसरी अलपत्र बनाइयो र आफ्ना अधिकार एवम् हितका निम्ति सङ्गठित आवाज उठाउँदा माओवादीले कसरी दुःख कष्ट दियो भन्नेलगायतका विषयमा विश्व समुदायलाई सविस्तार जानकारी गराउने भएका छन् । 

लेनिन विष्ट माओवादीले दुरुपयोग गरेका तीन हजारभन्दा बढी बालसेनामध्ये एक हुन् । बाह्र वर्षको उमेरमै माओवादीको सम्पर्कमा पु¥याइएका विष्ट २०६३ को परिवर्तन लगत्तै आफूहरूलाई उपेक्षा गरिएपछि बाल सैनिकलाई सङ्गठित गरी त्यसको प्रमुख बनेका थिए । उनले निर्माण गरेको संस्थामा माओवादीले दुरुपयोग गरेका २९७३ जना किशोरकिशोरी सङ्गठित भएका छन् । यसरी बालसेनालाई सङ्गठित गर्न थालेपछि माओवादीले लेनिनलाई निकै दुःख, कष्ट र सास्ति दिएको थियो । 

०६८ सालमा भक्तपुरको सल्लाघारीस्थित लेनिनको डेरामा आक्रमण गरी लुटपाट गरिएको थियो । कुनै सहयात्री नामक व्यक्तिको कमान्डमा भएको आक्रमणमा लेनिन भागेर ज्यान जोगाउन सफल भए पनि लुटिएका सामग्री अहिलेसम्म उनले फिर्ता पाएका छैनन् । त्यसपछि आफ्नो हकअधिकार प्राप्तिका निम्ति ०६९ सालको वैशाखमा माओवादी कार्यालय पेरिसडाँडा घेराउ गर्न जाँदा लेनिनलाई कार्यालयकै ट्वाइलेटमा थुनी बन्दी बनाइएको र त्यसबेला उनी कुनै तरिकाले ट्वाइलेटबाट निस्की दुई तलामाथिबाट हामफाले र भाग्दै ज्यान जोगाउन सफल भएका थिए । 

 

त्यसपछि ०६९ सालकै कात्तिकदेखि ५७ दिनसम्म लेनिन विष्टको नेतृत्वमा पेरिसडाँडा माओवादी कार्यालय घेराउ गर्ने कार्य भएको थियो । यसरी माओवादीमाथि निरन्तर दबाब पैदा भएपछि ०६९ माघ १० गते लेनिनलाई झुटा मुद्दा लगाएर काराबास पठाइएको थियो । अदालतले सफाइ दिएपछि एक वर्ष पश्चात् ०७० माघ १० गते लेनिन काराबास मुक्त भएका थिए । 

त्यसयता पनि लेनिन सम्पूर्ण बालसैनिकको हकअधिकारका निम्ति लड्दै आएका छन् । उनको लडाइँ हकअधिकार प्राप्तिमा मात्र केन्द्रित नभई बालबालिकाहरूलाई आइन्दा कसैले पनि हिंसात्मक क्रियाकलापमा सामेल नगरून् भन्नेतर्फ पनि सोझिएको छ । यसै क्रममा गत कात्तिकमा बैंककमा आयोजित कार्यक्रममा सहभागी हुन जान लाग्दा बादल नेतृत्वको गृह मन्त्रालयको निर्देशनमा उनलाई विमानस्थलबाटै जबर्जस्ति फर्काइएको थियो । तर, यसपटक भने उनी युरोप प्रस्थान गर्न सफल भएका छन् । 

 

उनको भ्रमणको सम्पूर्ण खर्च नेदरल्यान्ड सरकारले व्यहोर्ने भएको छ । नेदरल्यान्डस्थित अन्तर्राष्ट्रिय अदालत हेगमा आयोजना हुने विशेष कार्यक्रममा लेनिनले आफू तथा आफूजस्तै बालबालिकाहरूलाई माओवादीले कसरी दुरुपयोग गऱ्यो र उनीहरूले सत्ता पाइसकेपछि कसरी दुःख दिए भन्ने विषयमा सविस्तार जानकारी गराउनेछन् । लेनिन विष्टको युरोप भ्रमण प्रचण्डहरूका निम्ति कालान्तरमा दुर्भाग्य बन्ने सङ्केतहरू देखिएका छन् । 

यदि प्रचण्डलाई आफ्नो मिसनमा उपयोग निमित्तको ‘बार्गेनिङ’ मात्र होइन भने हिंसात्मक युद्धकालमा भएको विभिन्न आपराधिक कार्यका लागि प्रचण्डहरू कानुनी कारबाहीको दायरामा पुग्ने सम्भावना बढेको छ । लेनिन विष्टलाई युरोपेली मुलुकहरूले जसरी उच्च महत्व दिएका छन्, यसले प्रचण्डहरूको दुःखका दिन शुरु गराउने सङ्केत दिएको छ । युरोप प्रस्थान गर्नुअघि लेनिनसँग विभिन्न युरोपेली मुलुकका राजदूतहरूसँग भेटवार्ता भएको थियो । ‘बालसेना’ मुद्दाप्रति युरोपेली मुलुकहरू निकै गम्भीर देखिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =