‘राज्य ब्यवस्था असफल भो, अब बाटो फेर्नुपर्छ’ कमल थापा

फागुन ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको असफलता बर्तमान सरकारको मात्रै सृजना नभएको भन्दै विगतका सरकारका असफलताको सृंखला मात्र भएको बताएका छन् । विगत १२ वर्षयता मुलुकले अंगालेको मार्गचित्र, निती र राज्य ब्यवस्थाका कारण ओली सरकार असफल भएको अध्यक्ष थापाले बताए ।  

फागुन ७ गतेबाट राप्रपाले सुरु गर्न लागेको मेची महाकाली यात्राका सन्दर्भमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले र्धनिरपेक्षता, गणतन्त्र र संघियता कार्यान्वयनमा देखिएको कमिकमजोरी बारे अब बहस र पुर्नविचार हुनुपर्ने बताए ।  

 

null

‘केपी ओलीको ठाउँमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदैमा धेरै ठूलो परिवर्तन हुन्थ्यो भन्ने विस्वास गर्दिन । १२ वर्षदेखि कायम रहेको मार्गचित्र, निती र ब्यवस्थाको त्रुटीको कारण ओली सरकार असफल भएको हो ।’ उनले भने–‘बाटो नै गलत भएपछि ड्राइभर जतिसुकै राम्रो भएपनि त्यसले गन्तब्यमा पुर्याउन सक्दैन । बाटो फेर्ने तर्फ पुर्नविचार गर्नुपर्छ ।’ 

थापाले धर्मनिरपेक्षता खारेज गरी राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने बताएका छन् । जनताले धर्मनिरपेक्षता र राजसंस्थाका सन्दर्भमा फैसला नगरेको उल्लेख गर्दै संघियता, राजसंस्था र धर्मनिरपेक्षताका बारे जनमत संग्रह गर्नुपर्ने उनको दावि छ । ‘हिन्दु धर्म, राजसंस्थाका सवालमा जनताले प्रत्यक्ष अभिमत दिएका छैनन्, त्यसका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरी राष्ट्रिय जनमत संग्रह गरियोस ।’ उनले भने ।  

उनले १० वर्षको शशष्त्र युद्ध, १२ वर्षको अस्थिरतालाई पार गरेर संविधान जारी गरिएपनि जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्न नसकेको ठोकूवा गरेका छन् । ‘हिन्दु राष्ट्रको पहिचानलाई समाप्त गरी राज संस्थालाई पाखा लगाएर संविधान कार्यान्वयनमा ल्याइयो तर, त्यसले जनताका आवश्यक्ता र जनचाहना पुरा गर्न सकेन । १२ वर्षदेखि कायम रहेको मार्गचित्र, नीति र ब्यवस्था असफल भएको छ ।’  

थापाले अहिले मुलुकको राष्ट्रिय अखण्डता, धार्मिक सांस्कृतिक पहिचान माथि चुनौति खडा भएको जिकिर गरेका छन् । तराईमा केहि समुहले स्वतन्त्र मधेशको नारा उठाईरहेको भन्दै त्यसले राष्ट्रिय अखण्डतामै असर गरिरहेको भन्दै तत्काल त्यस्ता विखण्डनकारी विरुद्ध लाग्नुपर्ने बताए ।  

मुलुकमा भ्रष्टाचार ब्यापक र तिब्र भएको, राज्यका विभिन्न संरचनाहरु पार्टीकरण गर्दा राज्यको प्रभावकारीमा ब्यापक ह्रास आएकोले ब्यवस्था सुधार गर्न जरुरी रहेको जनाए ।  

अर्को एक प्रश्नमा अध्यक्ष थापाले तीन राप्रपा विच एकता गर्ने सवालमा पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले आफुलाई धोका दिएको समेत बताए । तीन पार्टी एकीकरणमा तीनै जनाविच सहमति गरेर घोषणा गर्ने भनेपनि अन्तिम अवस्थामा राणा र लोहनीले टिपेक्स लगाएर दुई पार्टीको मात्रै एकीकरण गरेको दावि गरे । 

‘दुई पार्टी विचको एकीकरणको दस्तावेज हामी तिनै जनाले सहमति गरेर बनाइएको थियो, अन्तिम अवस्थामा उहाँहरुले हाम्रो नाममा टिपेक्स लगाएर २ पार्टी भनेर घोषणा गर्नुभयो । अझैपनि पशुपति र प्रकाश जीले हस्ताक्षर गरेको कागजमा उहाँहरु तयार हुनुहुन्छ भने म भोलीनै पार्टी एकता गर्न तयार छु ।’ 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख घूस खाएको सन्दर्भमा बोल्दै थापाले राजीनामा समस्याको समाधान भएकोले अख्तियारले तत्काल कारवाही गर्नुपर्ने बताए । ‘राजनारायण पाठकको राजिनामा नै समस्याको समाधान हैन, अख्तियारले त्तकाल कारवाही गर्नुपर्छ । यो अख्तियारको नैतिक र बैधानिक जिम्मेवारी पनि हो ।’ उनले भने ।  

थापाले ०४७ साल यता विभिन्न निकायमा रहेका उच्च पदस्थहरुको सम्पत्तिको छानविन गर्न न्यायिक आयोग गठन गरिनुपर्ने समेत बताए । यसले हज्जारौं भ्रष्टाचारीहरुको छानविन हुने र भ्रष्टाचार न्यूनिकरणमा ठूलो सहयोग पुग्ने बताए ।  

सेना र न्यायालयमा समेत ठूलो भ्रष्टाचार हुने भन्दै थापाले अख्तियारलाई त्यहाँ छानविन गर्न सक्ने बनाउनुपर्ने बताए । मन्त्रीपरिषद्को नितीगत नियर्णमा समेत अख्तियारले छानविन गर्न सक्ने अधिकार दिइनुपर्नेमा थापाको जोड थियो ।  

(१) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् । 

(२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् । 

(३) संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् । 

(४) देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याईयोस् । 

(५) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस् । 

(६) वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस् । यस क्रममाः 

(क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस् ।(ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस् ।(ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गरियोस् । 

(७) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । यस क्रममाः 

(क) विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोवार संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस् ।(ख) सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पुंजिगत लाभकर लगायत सबै कर असुली गरियोस् तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिक कार्वाही गरियोस् ।(ग) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।(घ) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत अयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस् ।(ङ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस् ।(च) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड बडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि कानुन बमोजिम कार्वाही गरियोस् ।(छ) २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पतिको छानविन गर्न न्यायिक छानवि आयोग गठन गरियोस् ।(ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने । 

(८) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस् । 

(९) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस् । यस क्रममाः 

(क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस । (ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस्, 

(१०) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस् । 

(११) दश कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गरियोस् । 

(१२) पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ति र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस । 

(१३) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस् । 

(१४) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस् । यस क्रममा पशुपतीनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस् । 

(१५) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस् । 

(१६) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुला सिमा व्यवस्थित र नियमन गरियोस् । 

(१७) कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस् । 

(१८) नागरिकता सम्बन्धि विवाद सधैंका लागि अन्त्य गर्नः 

(क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस् । (ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस् । 

(१९) महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चालियोस् । 

(२०) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कडाईका साथ कार्यान्वयन गरियोस् तथा जातीय आधारमा मन्दिर प्रवेशमा लगाईएको भेदभावलाई हटाईयोस् । 

(२१) स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाईएका दोहोरो कर तत्काल खारेज गरियोस् । 

(२२) विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने गरि आवश्यक व्यवस्था आगामी आम निर्वाचनबाट सुरु गरियोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *