वाइडबडी भ्रष्टाचार प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष दुवैको हात छ: बाबुराम भट्टराई


माघ २, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले ठूल्ठूला भ्रष्टाचारमा प्रमुख दलका नेताको संलग्नता हुने गरेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले वाइडबडी विमान खरिद प्रकरण, एनसेल कर छली प्रकरण र बूढीगण्डकीको भ्रष्टाचारको चर्चा गर्दै यस्ता ठूला भ्रष्टाचार प्रकरणमा नेताको संलग्नता हुने गरेको आरोप लगाएका हुन् । ‘प्रमुख दलका प्रमुख नेताहरुको संलग्नता बिना यत्रो ठूलाे भ्रष्टाचार काण्ड हुनै सक्दैन’, उनले भने ।
null
वाइडबडि विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारका विषयमा नयाँ शक्ति पार्टी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा.भट्टराईले एक दर्जन बिचौलिया र कमिशनखोरले देश चलाइरहेको दाबी गरे ।
संयोजक भट्टराईले वाइडबडी भ्रष्टाचार प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको पनि मिलेमतो रहेको दाबी गर्दै दुबै दलले नेताहरुलाई जोगाउने काम गरिरहेको बताए ।
वाइडबडी भ्रष्टाचार छानविनका लागि सर्वदलीय, सर्वपक्षीय शक्तिशाली संसदीय समिति बनाउनु पर्ने नयाँ शक्ति पार्टीको माग छ ।
‘अहिले संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन गरेर प्रतिवेदन बुझाएको छ भने संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि छानविन गरिरहेको छ’ उनले भने, ‘उपसमितिहरुले सिमित दायराभित्र रहेर मात्रै छानविन गर्ने भएकाले सर्वदलीय अधिकार सम्पन्न समिति बनाएर छानविन गर्न माग गर्दछु ।’
वाइडबडीको सुरुवात आफू अर्थमन्त्री भएको बेला भएको जानकारी दिँदै डा.भट्टराईले २०६५ सालको बजेट भाषणमा आफूले वाइडबडी खरिद गर्ने उल्लेख गरेको बताए।
