भैँसीलाई सुत्केरी भत्ता

माघ ३, काभे्रपलाञ्चोक । पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरी भत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्ता समेत गरिरहेको छ । 

नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गरेका छन् । उनी भन्छन्, “हामीले यस वर्ष भैँसी संरक्षण अभियान अन्तर्गत कृषकलाई व्यावसायिक भैँसी पालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।” उनका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बीमा गरेको हुनुपर्छ । 

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउँने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै, कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ । 

null

नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताए। उनले भने, “हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।” 

वडा नं १२ वडाका भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताएए । उनले भने, “घरमा दुईवटा छन्, अब एउटा थप्छु, अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।” चालू आवको साउनदेखि हालसम्म सुत्केरी भत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताए । 

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उनी भन्छन्, “भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिन्छन्, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।” उनका अनुसार चालू आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ । 

सापकोटाका अनुसार नगरमा हाल चार हजार ६४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पुर्याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =