तरुण दलको विरोध प्रदर्शन सफल पार्न कांग्रेसको सर्कुलर

माघ ४, काठमाडौं । माघ ८ गतेदेखि नेपाल तरुण दलले आयोजना गरेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन नेपाली कांग्रेस केन्द्रिय समितिले आग्रह गरेको छ ।
हिजो पार्टीका ७७ वटै जिल्ला कार्य समितिलाई सर्कुलर जारी गर्दै पार्टीले कम्युनिष्ट सरकारको अधिनायकवाद र भ्रष्टाचारका विरुद्ध हरेक प्रदेश सदरमुकाममा आयोजित विरोध प्रदर्शनलाई भव्यताका साथ सम्पन्न गराउन निर्देशन दिएको हो ।
null
वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, निर्मला पन्त हत्याकाण्ड लगायतका गैरकानूनी र अलोकतान्त्रिक क्रियाकलापको विरुद्धमा देशका ७ वटै प्रदेशहरुमा तरुणहरुको विरोध प्रर्दशन कार्यक्रम अन्तरगत विरोध र्याली र विरोध सभालाई जिल्लाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न निर्देशन दिइएको छ ।
तरुण दलले माघ ८ गते प्रदेश १ को विराटनगर, माघ ९ गते प्रदेश २ को जनकपुर, माघ १० गते प्रदेश ३ को हेटौडामा विरोध प्रर्दशन गर्दैछ । यसैगरी गण्डकी प्रदेशको पोखरामा माघ ११ गते, प्रदेश ५ को बुटवलमा माघ १२ गते कर्णाली प्रदेशको सुर्खेतमा माघ १३ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ १४ गते विरोध र्याली सहित विरोधसभा गर्ने कार्यक्रम रहेको छ ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विरोध प्रर्दशनलाई प्रभाबकारी बनाउन जिल्ला, क्षेत्र, प्रदेश तहका सबै तरुणहरुलाई निर्देशन दिइएको बताए । ‘दुई तिहाईको बलमा अलोकतान्त्रिक निर्णय गर्दै आइरहेको कम्युनिष्ट सरकारका विरुद्ध जनता सडकमा आइसकेका छन् भन्ने देखाउन पनि यो कार्यक्रम गरिएको हो ।’ उनले बताए ।
प्रदेशका सबै कार्यक्रमका तरुण दलका केन्द्रिय तहका नेता, सांसद लगायतले संवोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।








