कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

पुस २२, काठमाडौं । आजको प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध सिर्जना गरेका कारण बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
null
आजको संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारवाही तथा सार्वजनिक विषयमा जानकारी गराएका थिए। त्यस विषयमा कांग्रेसका सांसदहरुले प्रश्न गर्नु पाउनु पर्ने माग गरेका थिए।
सभामुख महराले सरकारको काम कारवाहीका विषयमा जानकारीमुलक वक्तव्य भएको भन्दै यसमा प्रश्न गर्न नपाउने भनेपछि प्रतिपक्षी कांग्रेस सांसदहरुले यसको विरोध जनाउँदै संसदमा उठेर नाराबाजी गरे ।
सभामुख महराले प्रश्नोत्तरकै कार्यक्रममा प्रश्न राख्न सांसदहरुलाई अनुरोध गरे । लगतै कांग्रेस सांसदहरुले प्रश्नउत्तर गर्न समय मागे । तर सभामुखले प्रश्नको समय उपलब्ध नगराउँदा कांग्रेस सांसदहरुले नाराबाजी गर्दै रोस्टम घेराउ गर्न पुगेका थिए।
सभामुखले त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर छलफलको प्रयास गरेका थिए। तर पुनः बैठक बस्न सकेन। संसद सचिवालयले सुचना टाँस गरी बुधबार दिउँसो १ बजे अर्को बैठक बस्ने जनाएको छ।








