कटहरीमा सुविधा सम्पन्न फलफुल तथा तरकारी बजार निर्माण

पुस २२, विराटनगर । मोरङको कटहरी गाउँपालिकामा अत्याधुनिक सुविधा सम्पन्न फलफुल तथा तरकारी बजार निर्माण भएको छ ।
संघीय कृषि विकास मन्त्रालयको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोडको लागतमा कटहरी गाउँपालिका– १ जमटोकीमा सो अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको हो ।
null
विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भएको थियो । १७ हजार ८ सय ८१ वर्गमिटर क्षेत्रफलमा निर्माण भएको सो तरकारी बजारमा १७ वटा होलसेल पसल राख्न मिल्ने गरी १४ सय ८८ वर्गमिटरमा अत्याधुनिक भवन निर्माण भएको छ भने ३ सय ५१ वर्गमिटरमा खुद्रा बिक्री भवन निर्माण गरिएको छ ।
२०७४ सालमा निर्माणको लागि ठेक्का पाएको लामा निर्माण कम्पनी एण्ड रमन निर्माण प्रा.लि जेभीबाट भूमि कन्ट्रक्सनलाई ठेक्का सारेर १३ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौतामा काम थालिएको थियो । पछि तोकिएको समयमा काम नसकिएपछि २ महिना म्याद थप गरिएको थियो ।
गत वर्षको साउनमा आएको बाढीका कारण काम ढिला भएको र निर्माण सम्पन्न गरी सरकारलाई जिम्मा लगाईसकिएको भूमि कन्ट्रक्सनका सञ्चालक अभिनाश बोहोराले बताए । उनले भने, ‘यो आज भन्दा २ वर्ष अगाडी सम्झौता भएको हो । सम्झौता अनुसार समयमै काम सम्पन्न गरेका छौँ । बिचमा विगतमा आएको बाढीका कारण केही समय ढिला हुन गएको हो ।’
तरकारी बजार बनाउने जग्गाको संरक्षणको लागि कटहरी गाउँपालिकाले ठूलो भूमिका खेलेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले बताए । सो तरकारी बजार निर्माणले कटहरी लगायत आसपासका उपभोक्ता तथा ब्यापारीलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘कटहरी र जहदा गाउँपालिकामा धेरै तरकारी खेती हुने गरेको छ । कटहरीमै बजार निर्माण भएपछी स्थानीय कृषक र उपभोक्ता त्यसैपनि लाभान्वित हुने भएका छन् ।’
संघीय सरकार मातहतमा निर्माण भएको सो बजार प्रदेश सरकारलाई हस्तान्तरण भइसकेको छैन । बजार निर्माण सम्पन्न भई हस्तान्तरणको पक्रियामा रहेको बताउँदै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले त्यस बजारसँग सम्बन्धित सबै पक्षको प्रतिनिधित्व हुनेगरी बजार सञ्चालक समिति बनाएर सो तरकारी तथा फलफुल थोक बजार सञ्चालन गरिने जानकारी दिए ।
प्रवक्ता यादवले भने, ‘अब संघिय संरचना अनुपको निर्देशिकाका आधारमा त्यो बजार सञ्चालन हुन्छ । जब बजार सञ्चालनमा आउनेछ निर्देशिकाले तोके बामोजिमको समिति गठन गरिनेछ । जसमा कृषकको प्रतिनिधि, व्यपारीको प्रतिनिधि, सरकारिलगायत सबै क्षेत्रको प्रतिनिधित्वमा बजार सञ्चालन हुनेछ ।’
तरकारी बजारभित्र उपभोक्ता तथा व्यापारीहरुलाई सहुलियतको लागि तरकारीको मूल्य सुची देखाउने डिस्प्ले रहनेछ भने ८ हजार टन फलफुल तथा तरकारीको कारोबार गर्न सकिने छ । सो बजारमा प्रति वर्गमिटर ३० टन भण्डारण क्षमता रहेको छ । तरकारी बजार क्षेत्रभित्र २ तले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहार व्यवस्थापन एरिया रहनेछन् ।
साथै उक्त बजारभित्र लोड अनलोड एरिया, डिप ट्युवेल, सिसिटिभी, जेनेरेटर, सोलार, गार्ड पोष्ट पार्किङ एरिया समेत रहने छ । सो बजार सञ्चालन भएपछि विराटनगरको गुद्रीका थोक व्यापारीहरुले सो बजारमा सर्नुपर्ने छ । तर गुद्रीका थोक व्यापारीहरु भने खिन्न छन् । बजार टाढा हुने भएकोले व्यापार नहुने उनीहरुको गुनासो छ ।
विराटनगरमो मुख्य बजार स्थित गुद्री बजारमा तरकारीको थोक व्यापार गरिरहेका रञ्जित रौनियारले महानगरपालिकामा रहेको बजारलाई गाउँपालिकामा सार्दा आफुहरुलाई समस्या पर्ने बताए । उनले भने, ‘अहिले सम्म हामीले यत्रो वर्षदेखी गुद्रीमै व्यापार गर्दै आएका छौँ । महानगरपालिकाबाट गाउँपालिकामा सारेपछी एक त लागत बढ्छ, हाम्रा ग्राहक पनि घट्छन् । अर्को ठाउँमा सर्दा हाम्रो व्यवसाय नै चौपट हुन्छ ।’
यस्तै अर्का व्यपारि रोशन भगतले गुद्री बजारबाट आफुहरु नयाँ बजारमा कुनै हालतमा नसर्ने चेतावनी दिएका छन् । उनले भने, ‘हमीले यत्रो वर्षदेखी यहाँ व्यापार जमाएका छौँ । नयाँ ठाउँमा कसरी हाम्रो व्यवसाय चल्छ ? हामी कुनै हालतमा त्यहाँ जाँदैनौँ ।’








