पानीजहाजको कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय, रेल किन्न पनि स्वीकृति
माघ ३, काठमाडौँ । सरकारले पानी जहाज ल्याउनका लागि कार्यालय स्थापना गर्ने भएको छ ।
बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पानीजहाजका लागि कर्मचारीको व्यवस्था समेत भइसकेको जानकारी दिए ।
null
पानी जहाज र रेल प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मजागमा उडाइएको थियो । प्रधानमन्त्री ओलीले पानी जहाज ल्याउने बाचा पुरा गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।
प्रवक्ता बाँस्कोटाले पानीजहाजका लागि १६ जना कर्मचारीको दरबन्दी रहने र त्यसको नेतृत्व उपसचिवले गर्ने जानकारी दिए । उनले भने, ‘अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन हामीले कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौँ।’
यसअघि एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुस १६ गतेदेखि नेपालको कोसीमा पानीजहाज चल्ने भन्दै त्यसमा यात्रा गर्न आलोचकहरुलाई निम्तो दिएका थिए।
त्यस्तै सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । जनकपुर–जयनगर रेल सन्चालन गर्न आफ्नै रेलगाडी किनेर सेवा सञ्चालन गर्ने तयारी स्वरुप यस्तो निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।