वाइडबडि प्रकरणमा अख्तियारले गर्ने छानविन रोक्न पाइँदैनः सांसद
पुस २०, काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिको बैठकमा वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे सांसदहरुले प्रश्न उठाएका छन् ।
सिंहदरबारमा भएको बैठकमा सांसदहरुले प्रतिवेदन अधुरो भएको भन्दै सच्याउन समेत माग गरे । नेकपाका सांसद विशाल भट्टराईले उप समितिले समिति बैठकमा प्रस्तुत गर्नुअघि नै प्रतिवेदन सार्वजनिक गरेको भन्दै आपत्ति जनाए।
null
बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले पत्रकारले समाचार लेखेकोमा उपसमितिलाई दोषी देखाउनु सही नभएको बताए। उनले विमानको इन्जिन एयरबससँगै नकिनेर बिचौलियाबाट किनिएको भन्दै त्यसमा पनि अनियमितता भएको देखिने बताए । उनले यो बारेमा पनि अख्तियारले अध्ययन गर्नुपर्ने बताए ।
सांसद मिनेन्द्र रिजालले दलीय आवद्धताका आधारमा नहेर्न पनि आग्रह गरे । कुन निर्णय कतिबेला भयो भन्ने मुख्य हुने उनको तर्क छ । ‘कुन एक्टर कुन बेला कसरी प्रवेश गरेका छन्, हामीले ध्यान दिनुपर्ने हुन्छ’ सांसद रिजालले भने ।
उपसमितिको प्रतिवेदन आइसकेपछि सरकारले आयोग बनाएको भन्दै उनले सरकारले आयोग बनाइसक्यो भन्दैमा लेखा समिति मौन बस्न नसक्ने बताए ।
‘सरकारले जेजे कमिटी बनाउँछ बनाइराखोस्, अख्तियारले गर्ने छानविन रोक्न पाइँदैन’ उनले भने ।
कांग्रेसका अर्का सांसद तेजुलाल चौधरीले पनि सांसदहरु जति उफ्रिए पनि भ्रष्टाचार भएको प्रष्ट भइसकेको दाबी गरे ।
नेकपाकै अर्का सांसद सूर्य पाठकले उप समितिमा प्रतिवदेन अपुरो रहेको भन्दै आलोचना गरे।
‘एयर बस कम्पनीलाई इमेल गरेको भनेको छ। कति रकममा खरिद गरेको भनेर भनिएको छैन’, उनले भने । पाठकले इमेलको जवाफ नआउँदै किन प्रतिवेदन सार्वजनिक गरिएकोप्रति असन्तुष्टि पोखे ।