‘प्रधानमन्त्रीमाथि टिप्पणी गरेर डा. केसीले आफ्नै स्तर गिराए’


पुस २३, काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं अनशनको तयारी थालेका डा. गोविन्द केसीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले नेकपाको विरुद्धमा उत्रिएर आफ्नो स्तर स्खलित गरेको बताएका छन् ।
सोमबार संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले डा. गोविन्द केसीलाई अभियन्ताका रुपमा बनाएको छवि नबिगार्न पनि सुझाव दिए ।
null
‘प्रधानमन्त्री, पूर्व मन्त्री र आफूमाथि निम्नस्तरको टिप्पणी गरेर अभियन्ताको रुपमा बनाएको विशिष्ट छवि नगुमाउनुस्’, योगेशले भने, ‘नेकपामाथि प्रयोग गरेका शब्दले उहाँलाई जीवनभर पोल्ने छ ।’
डा. गोविन्द केसीले सोमबार बिहान पत्रकार सम्मेलनमा सरकारलाई माफियाको रुपमा चर्चा गरेका थिए । उनले साम्यवादी, समाजवादी भनिएका शीर्षस्थ नेताहरुले माफियासँग साँठगाँठ गरिरहेको बताएका थिए । ‘ओलीजी र प्रचण्डजीले जे भने, त्यही हुने हो । र, उनीहरुले गर्ने भनेकै माफियाको काम हो । अहिले राज्य माफिया, बिचौलिया र दलालहरुले चलाइरहेका छन्’, डा. केसीले पत्रकार सम्मेलनमा भनेका थिए ।
यसैको जवाफमा नेता भट्टराईले यस्तो सुझाव दिएका हुन् । देशलाई अप्ठेरो परेको बेला डा. केसी जस्ता छवि भएका मान्छे आवश्यक रहने भन्दै नेता भट्टराईले सो छवि कायम राख्न आग्रह गरे।
