टीकापुर काण्डका अभियुक्त चौधरीले थारु भाषामा लिए सपथ

पुस १९, काठमाडौँ । टिकापुर काण्डका मुख्य अभियुक्त राजपा नेता रेशम चौधरीले आज सांसद पदको सपथ लिएका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्ष सिंहदरबारमा आज उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । चौधरीले थारु भाषामा सपथ लिएका हुन् ।
null
राजपाका शीर्ष नेताहरुको उपस्थितिमा चौधरीलाई संसद् सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले सांसदको लोगो लगाइदिए। राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचित चौधरीलाई पदको सपथपछि पुनः कारागार नै लगिनेछ । उनले सांसद्को पदीय पहिचान हुने कुनै पनि कामकाज गर्न पाउने छैनन् ।
सांसद चौधरीको सेवा सुविधा रोक्का हुनेछ भने, सांसद्को हिसाबमा बैठकमा भाग लिन पनि नपाउने सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।
कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते एक बालकसहित सात प्रहरीको हत्या भएको थियो। सोही घटनाको मुद्दामा रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।
उनीमाथि टीकापुर घटनाको मुख्य योजनाकार रहेको आरोप छ र उनी फरार भएका कारण शपथ हुन सकेको थिएन । उनलाई गएको फागुनमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।








