भोट तान्न भरतपुर-१९ मा देवी र रेणुको यस्तो रणनीति ?

साउन १७, भरतपुर । भरतपुर मतगणना प्रकरणबारे सर्वोच्चले निर्वाचन आयोगको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णयलाई सदर गरेपछि यहाँ चुनावी माहोल तात्न थालेको छ । निर्वाचन आयोग हुँदै अदालत पुगेको भरतपुर मुद्दा दुई महिनाको समयसीमा सम्म अलमलमा परिरहँदा भरतपुर–१९ सुस्ताउँदै गएको थियो । तर, अब मुद्दा किनारा लागेपछि एमाले र माओवादी केन्द्रका मेयरका उम्मेदवारले यो वडालाई केन्द्रमा राखेर मतदाता रिझाउने रणनीतिमा उत्रेका छन् ।निर्वाचन आयोगको सोमबार बसेको बैठकले भरतपुर महानगरपालिका—१९ मा पुनः मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । भने, आयोगको आदेशसंगै केही दिन भित्रै भरतपुर—१९ मा पुनः मतदान हुनेछ ।

भरतपुर महानगरपालिका बारेको मुद्दा अदालतमा चलेपनि उम्मेदवार भने घरदैलोमै थिए । यद्पी उनीहरू पछिल्ला दिनमा अलिक सुस्ताएका जस्ता देखिन्थे । केन्द्रीय नेताको समेत प्रतिष्ठा जोडिएको विषय भएका कारण दुवै पक्ष भरतपुरलाई गुमाउन चाहँदैनन् । यसबीचमा एमाले उम्मेदवार देवी ज्ञवाली मतपत्र च्यात्ने माओवादी कदमको ‘भण्डाफोर’ गर्ने भन्दै घरदैलोमा हिडेतापनि उनको उद्धेश्य मत माग्ने नै थियो ।

यस्तै, माओवादी र काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालपनि दुर्इ महिना यता घरदैलो कार्यक्रममै व्यस्त छिन् । उनीपनि एमाले प्रचारका कारण आफ्ना मत नगुमुन् भन्नेमा सचेत छिन् । त्यस बेला प्राप्त गर्न नसकेको काँग्रेस कार्यकर्ताको मतसमेत यसपाला पाउने रणनीति सहित माओवादी र काँग्रेस नेता कार्यकर्ताहरू रेणुको पक्षमा मत माग्न घरदैलोमा व्यस्त छन् ।

शारदानगर, गुञ्जनगर र किरणगञ्ज समिटिएको भरतपुर–१९ लाई यस अघि नेपाली काँग्रेसको गढ मानिन्थ्यो । तर , अघिल्लो निर्वाचनमा यही वडाबाट एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीलाई समानान्तर मत खसेपछि काँग्रेस माओवादी गठबन्धन जिल्लिएको थियो । अघिल्लो पटकको निर्वाचनमा १९ नम्बर वडाबाट वडाबाट काँग्रेस मतदाताले माओवादी केन्द्रले अपेक्षा गरेजति मत रेणुलाई नदिएको गठबन्धन पार्टीको विश्लेषण थियो । तर, अबको मतदानमा माओवादी केन्द्रले वडा भित्रका काँग्रेस मतदाताको उच्चतम् मत रेणुलाई पार्ने काेसिस गर्नेछ । यसमा उसले पक्कै पनि गठबन्धनको सहयोगी दल काँग्रेसका जिल्ला स्थित नेताहरूलाई सघन रूपमा परिचालन गराउने छ भन्नेमा कुनै शंकै छैन ।

यसै गरी, एमालेले पनि वडा नम्बर १९ बाट देवी ज्ञवालीलाई अधिक मत खसाउने प्रयत्न गर्नेछ । चितवन एमालेले मतपत्र च्यातिएको प्रकरणलाई वडामा मज्जाले भजाउन बाँकी राख्ने छैन भन्नमा पनि कुनै शंकै छैन । प्रतिपक्षी दल भएकाले स्वभाविक रूपमा सत्ता गठबन्धनको ज्यादती र षडयन्त्रका कारण यो वडाका मतदाताले दुख्ख पाएको भन्दै एमाले उम्मेदवारले वडा नम्बर १९ मा नयाँ कोणबाट आफ्नो प्रचारप्रसार गर्नेछन् । उता, माओवादी केन्द्र र काँग्रेसका कार्यकर्ताले भने निर्वाचन आयोगले ऐन बमोजिम नै पुनः मतदान गराएको भन्दै आफ्ना मतदाताहरुलाई आश्वस्त पार्ने छन् ।

यति हुँदाहुँदै, प्रतिष्ठा र एकप्रकारको विकसित अहंमको लडाइँ भएकाले भरतपुर महानगरको वडा नम्बर १९ दुवै पक्षका लागि ‘गर कि मर’को प्रयोगस्थल हुने निश्चित छ । यस्तोमा, मतदातालाई अनावश्यक र अवैध तरिकाले आकर्षित गर्ने खेलहरू नहोलान् भन्न पनि सकिन्न । त्यसैले निर्वाचन आयोग यसबारे सचेत रहन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *