दूध उत्पादनमा वृद्धि

पाल्पा, १६ साउन । जिल्लामा वर्षेनी दूधको उत्पादनमा वृद्धि हुँदै गएको छ । यहाँका कृषकले पशुपालन व्यवसायलाई जोड दिन थालेपछि दूध उत्पादनमा वृद्धि भएको हो । दूध उत्पादन बढाउने उद्देश्यले कृषकले उन्नत जातका पशुपालन व्यवसाय शुरु गरेपछि दूध बिक्रीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

जिल्लाका कृषकले विशेष गरी तराई क्षेत्रबाट उन्नत जातका गाई खरिद गरी पशुपालन व्यवसाय गर्न थालेपछि वर्षेनी दूध उत्पादन बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३/७४ मा ४८ हजार ४३ मेट्रिक टन दूध उत्पादन भएको छ । अघिल्लो वर्षको उत्पादनमा ३.७५ प्रतिशतले बढेको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा प्रदीप शर्माले जानकारी दिनुभयो । आव २०७२/७३ मा ४६ हजार ३१७ मेट्रिक टन दूध उत्पादन भएको थियो ।

पशुसेवा कार्यालयले पशुपालन व्यवसायमा संलग्न कृषकलाई सहज होस् भनेर पशुआहारका लागि उन्नत जातका घाँसको बीउ वितरण, पशु स्वास्थ्यसम्बन्धी विभिन्न समस्याको उपचारमा सहयोग, क्षमता वृद्धि कार्यक्रम, अनुदान रकम, विभिन्न सामग्री प्रोत्साहनस्वरुप उपलब्ध गराएपछि व्यवसाय बढ्नुका साथै दूध उत्पादनमा वृद्धि आएको अधिकृत शर्माले बताउनुभयो ।

जिल्लामा उत्पादित दूध बुटवल, स्याङ्जा र पोखरासम्म निर्यात हुने गर्छ । जिल्लामा ९० भन्दा बढी व्यावसायिक गाई फार्म सञ्चालनमा आएका छन् । एक कृषकले पाँचवटासम्म उन्नत जातका गाई पालेर एक वर्षमा रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्न सफल भएको अधिकृत शर्माको भनाइ छ ।

पशु आहारका लागि कृषकले खेतबारीमा उन्नत जातका पोषिला घाँस उत्पादन, पशुस्वास्थ्यमा ध्यान दिन थालेपछि नसोचेको उत्पादन लिन सफल भएको रामपुरका अगुवा कृषक ज्ञानराज पोखरेल बताउनुहुन्छ । उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई रहेका छन् । दैनिकरुपमा ५० लिटर दूध उत्पादन गरेर मासिक रु ५० हजारभन्दा बढी आम्दानी गर्नुहुन्छ ।

“दाना घाँसपात प्रशस्त मात्रामा सन्तुलन मिलेको खण्डमा एक गाईबाट छ सात लिटरसम्म दूध उत्पादन लिन सकिन्छ”, उहाँले भन्नुभयो ।

पाल्पा विगत पाँच वर्षयता दूध उत्पादनमा आत्मनिर्भर हुँदै आइरहेको छ । कृषकले उन्नत जातका पशुपालन व्यवसाय बढाउँदै जाँदा दूधको उत्पादन बढेपछि दूध उत्पादनका लागि आत्मनिर्भर बनेको हो । आधुनिक गोठ निर्माण गरेर व्यवसाय गर्ने युवा कृषकको पशुपालनमा आकर्षण बढ्नुका साथै दूध बिक्रीबाट यहाँका कृषकले प्रशस्त आम्दानी गर्न थालेका छन् । कृषकले एक दुईवटा उन्नत जातका गाई पालेर सामान्य घरखर्च पनि चलाउँदै आएको पाइएको छ ।

पाल्पामा ६४३ उद्योग दर्ता 

घरेलु तथा साना उद्योग कार्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ६४३ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ ३९७ र उद्योगतर्फ २४६ उद्योग दर्ता भएका हुन् । वाणिज्यतर्फका ४६५ वटा उद्योग नवीकरण, १७५ संशोधन र ६० वटा फार्म खारेजी भएको छ । विसं २०७२/७३ मा ३२९ वटा फार्म दर्ता भएका थिए भने १२६ वटा नवीकरण, ६० वटा संशोधन र ३२ वटा उद्योग खारेजी भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख बालकृष्ण गैरेले बताउनुभयो ।

उद्योगतर्फ २४६ दर्तामध्ये लघु उद्यम फार्म दर्ता ७० वटा, निजी (घरेलु तथा साना उद्योग) फार्मतर्फ १६६ वटा, साझेदारीतर्फ चारवटा, कम्पनी दर्ता पाँचवटा र घरेलुतर्फ एउटा उद्योग दर्ता भएको गैरेले बताउनुभयो । उत्पादनमूलकमा ४३, कृषि तथा वन्यजन्यमा ६९, पर्यटनमा ७७, सेवामूलकतर्फ ५७ रहेको कार्यालयले जनाएको छ ।

आव २०७२÷७३ मा उत्पादनतर्फ ४३ वटा, कृषि तथा वन्यजन्य ८६, पर्यटनअन्तर्गत ६२, सेवा उद्योगतर्फ ६७ गरी जम्मा २५८ वटा उद्योग दर्ता भएका थिए । जिल्लामा हाल एक हजार ९५४ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । आव २०७३÷७४ मा ३८ वटा उद्योग महिलाको नाममा दर्ता भएको पाइएको छ । सिलाइ कटाइ, ढाका कपडा उद्योग, कृषि, ब्युटिपार्लरजस्ता उद्योग महिलाको नाममा दर्ता भई हाल सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *