सिन्धुपाल्चोक खानेपानी आयोजनाको १० प्रतिशत काम बाँकी

“
चौतारा, भाद्र २६ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको खानेपानी आयोनाको हालसम्म ९० प्रतिशत काम सम्पन्न अब १० प्रतिशत मात्र काम बाँकी रहेको छ ।
बाँकी रहेको काम धमाधम भइरहेको साविक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजनल इञ्जिनियर लक्ष्मी उपाध्यायले बताए । क्षतिग्रस्त आयोजनामध्ये कुनै मर्मत गर्नुपर्ने, कोही पुनःनिर्माण गर्नुपर्ने र कुनै पुनःस्थापना गर्नुपर्ने अवस्था रहेको छ । भूकम्पबाट मुहान सुकेका, मुहान तलमाथि सरेका तथा नयाँ बस्ती बसेका स्थानमा काम भइरहेको छ ।
चौतारा सागाचोक गढी नगरपालिका–८ इर्खूको दियाले, मेलम्ची नपाअन्तर्गत गिरानचौर तथा मेलम्ची, हेलम्बु र गातीमा बन्न लागेका एकीकृत बस्तीको लागि खानेपानी योजनाको निर्माण भइरहेको उपाध्यायले जनाए । सदरमुकाम चौतारा बजार तथा आसपासका गाउँको लागि चौतारा–थालखर्क खानेपानी आयोजनाको गत वर्ष १८ किलोमिटर पाइप फेर्ने काम भई सकेको छ । रु ६५ करोडको लगानीको सो आयोजनाको थालखर्कको मुहान क्षेत्रमा अझै ३ दशमलव ५ किमीमा पाइप बिछ्याउने काम बाँकी रहेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको समेत बजेट रहेको उक्त आयोजनाको काम बजेट निकासा नहँुदा दुई वर्षदेखि रोकिएको थियो । थालखर्क र स्याउनेदेखि चौतारासम्मको वितरण लाइनको काम बाँकी नै छ । बाँकी काम पूरा गर्न खानेपानी तथा शहरी विकास मञ्त्रालयबाट बजेट निकासा हुने इञ्जिनीयर उपाध्यायले बताए । नेपाल सरकारको निर्णयअनुसार जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजनलगायतका कार्यालय साउन १ गतेदेखि खारेजीमा परेको छ । खारेजीमा परेका कार्यालयले गर्दै आएका काम अब कुन निकायले गर्ने भन्नेबारे निश्चित टुङ्गो नलागेपछि विभिन्न आयोजना अधुरै अवस्थामा रहेका छन् ।
“








