चितवनका दुई बालगृहको अनुगमन, तत्काल सुधार गर्न निर्देशन

किशोर खनाल, भरतपुर । जिल्ला बालकल्याण समिति चितवनले भरतपुर महानगरपालिकाभित्र पर्ने दुई वटा बालगृहको अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जगतपुरको आशा अनाथालय र मेघौलीको पहिलो प्रेम नेपाल बालगहृमा अनुगमन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला बालकल्याण समितिका अध्यक्ष नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा, महिला तथा बालबालिका कार्यालय प्रमुख तथा जिल्ला बालकल्याण अधिकारी शान्ताकुमारी पौडेल, जिल्ला बालकल्याण समिति सदस्यद्वय मिना खरेल र केदारनाथ खनाल, भरतपुर महानगरपालिकाका सामाजिक विकास अधिकृत तुलसी श्रेष्ठ, बाल संरक्षण अधिकृत महेशराज पौडेल, महिला तथा बालबालिका कार्यालय बाल शाखाकी शुभद्रा शर्मालगायतले टोलीले बालगृहको अनुगमन गरेको थियो ।
दुई बालगृहमा देखिएका कमीकमजोरीहरुलाई तत्काल सुधार गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ‘मेघौलीको पहिलो प्रेम नामको बालगृह समग्रमा राम्रो भेटियो । जगतपुरको आशा अनाथालयमा केही कमजोरी देखिएको हुँदा तत्काल सुधार गर्न निर्देशन दिएको छु’ प्रमुख जिल्ला अधिकारी भट्टले भने ।
अनुगमनको क्रममा आशा अनाथालयमा खानाको गुणस्तर नभएको, सरसफाइमा ध्यान कम पुगेकोे, पर्याप्त शौचालय नभएको र पौष्ट्रिक आहारमा कमी भएको प्रजिअ भट्टले बताए । उनले भने, ‘अनुगमनमा देखिएका समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिएको छु, पक्कै सुधार आउला ।’


महिला तथा बालबालिका कार्यालय प्रमुख तथा जिल्ला बालकल्याण अधिकारी शान्ताकुमारी पौडेलले बालगृहमा रहेका बालबालिकाहरुको नियमित स्वास्थ्य जाँच गर्न सुझाव दिएको बताइन् । उनले दुबै बालगृहको अनगुमनको क्रममा बालबालिकाको नियमित स्वास्थ्य जाँच गर्न, पोषिलो खानेकुरा खुवाउन, सरसफाइमा बढी ध्यान दिन सुझाव दिएको बताइन् ।
मेघौलीको पहिलो प्रेम नेपाल बालगहृमा हाल ४५ जना बालबालिका रहेका छन् । आशा अनाथालयमा हाल ३५० बालबालिका रहेका उक्त अनथालयका म्यानेजर सन्तोष पौडेलले बताए । उनले अनुगमन टोलीबाट आएको सुझाव केही दिनभित्रै कार्यान्वयनमा ल्याउने बताए ।
‘हाम्रो बालगृहमा ठूलो समस्या केही छैन । अनुगमन टोलीबाट पोष्ट्रिक आहारमा ध्यान दिन, बालबालिकाको राम्रोसँग व्यवस्थापन गर्न सुझाव आएको हो, त्यो हामीले केही दिनमै सुधार गर्छौ’ म्यानेजर पौडेलले भने, ‘हरियो पोसिलो सागपात खुवाउन भन्नुभएको थियो, त्यो हामीले खुवाइरहेका छौँ ।’ अनुगमन टोलीले शौचालय थप्न भन्नुभएको हुनाले त्यो बनाउन केही दिन लाग्ने उनले बताए ।
बालगृह सञ्चालन मापदण्ड–२०६९ मा उल्लेख भएअनुसार यहाँ सञ्चालित सबै बालगृहले सम्पूर्ण मापदण्ड पूरा गरेका छैनन् । चितवनमा दर्ता भएका बालगृहहरु ३० वटा छन् । दर्ता नगरी यहाँ बालगृह सञ्चालनमा छन्, तर ती कति छन् भन्ने कुरा एकीन नभएको महिला तथा बालबालिका कार्यालय प्रमुख शान्ताकुमारी पौडेलले बताइन् । उनले भनिन्, ‘दर्ता नगरी चलेका २ वटा बालगृहलाई हामीले बन्द नै ग¥यौँ ।’
बालगृहको हकमा विसं २०६९ देखि लागू गरिएको मापदण्डमा आवासीय बालगृह बालबालिकाको हेरचाहको अन्तिम उपाय भएको सुनिश्चित गरिनुपर्ने, बाल गृहमा भर्ना गरिने बालबालिकाको पूर्ण परिचय खुल्ने व्यक्तिगत विवरण तयार गर्नुपर्ने, बालबालिकालाई बालगृहमा भर्ना गर्नेबित्तिकै आवास, पोसाक र राम्रो भोजनको व्यवस्था गर्नुपर्ने, मनोसामाजिक विमर्सकर्ता हुनुपर्नेलगायतका बुँदा समावेश गरिएको छ । यसबाहेक बालबालिकाको संख्याअनुसार कर्मचारीको व्यवस्था गरिनुपर्ने पनि मापदण्डमा उल्लेख छ । प्रत्येक १० बालबालिका बराबर १ जना कर्मचारी हुनुपर्ने छ ।
‘हामीले यसअघि नै २० वटा बालगृहको अनुगमन गर्दा केही न केही त्रुटि फेला परेको थियो, अहिले विस्तारै सुधारात्मक हुँदै गएका छन्’ प्रमुख पौडेलले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *