फिल्म समिक्षाः ‘मि.भर्जिन’ राम्रा कलाकारकाे घटिया फिल्म

चलचित्र विकास बोर्डले मि. भर्जिन भन्ने फिल्मलाई ‘ए’ सर्टिफिकेट दिएको छ । ‘ए’ अर्थात ‘एडल्ट’ अर्थात वयस्कले मात्र हेर्न मिल्ने फिल्म । सवाल सर्टिफिकेट मात्र होईन, एडल्टहरु मात्रैले पनि फिल्म सँगै बसेर हेर्न सक्छन् कि सक्दैनन् भन्ने हो । संयोगले अहिले चलचित्र विकास बोर्डमा महिला अध्यक्ष छिन् । तर तिनै अध्यक्ष आफ्ना सहकर्मी ‘वयस्क’ हरुसँगै बसेर मि.भर्जिन भन्ने फिल्म हेर्न सक्छिन् कि सक्दिनन् ?

वयस्क साथीहरु बाहेक अन्य नाताका जस्तै वयस्क दाजु र बहिनी वा वयस्क दिदी र भाइ वा वयस्क आमा छोरा वा यस्तै नाताकाहरु सँगै बसेर हेर्न सक्छन् कि सक्दैनन् त्यो महत्वपूर्ण हो । अनि त्यसलाई प्रमाणीकरण गर्ने निकायले हेक्का राख्नु पर्ने कुरा पनि हो ।

संसारमा भिन्नाभिन्नै सभ्यताहरुबाट विकसित समाजहरुले सामाजिक अनुशासनका भिन्नाभिन्नै मानक र सीमा निर्धारण गरेका छन् । श्लीलता र अश्लीलताका बारेमा धेरै बहस छेडिएका छन् जुन अहिले पनि कायम नै छ । कतिलाई श्लील र कतिलाई अश्लिल मान्ने भन्ने बहसमा मतैक्यता त कहिले नि हुँदैन । त्यसो हुनुमा समाजले निर्धारण गरेको फरक मानकहरुका कारणले नै हो ।

फरक देश मात्र होईन, फरक समुदाय बीच मै हामी कहाँ नै यसबारेमा फरक फरक मानक स्थापित छ । कर्णालीबाट झापा सम्म र ताप्लेजुङ्गबाट कञ्चनपुर सम्म पुग्दा नै यो फरक हामी महशुश गर्न सक्छौं । त्यसैले यसको सामान्य समाधान भनेको नै के हो भने साथी बाहेक अन्य नातेदारसँगै बसेर हामी हेर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्नको उत्तर पायौं भने त्यही नै पर्याप्त हुन सक्छ ।

नेपाली फिल्म उपर भईरहेको देशीय र अन्तरदेशीय राजनीतिको शिकार जानेर वा नजानेर नेपाली फिल्मकर्मीहरु भईरहेका छन् जसको उनीहरु आफैलाई हेक्का छैन ।

यही फिल्मको प्रमोशनका लागि गरिएको एउटा प्रायोजित कार्यक्रममा फिल्मका कलाकारहरु आफै पनि असजिलो महशुश गरिरहेको देख्न सकिन्छ । उक्त कार्यक्रम भरि नै फिल्ममा वेश्याको भुमिका निर्वाह गर्ने कलाकार मरिष्का पोखरेलले अनुहार छोपेर कुरा गरिरहेकी छन् । स्वयं कलाकारहरु अनुहार देखाउन नसक्ने गरी फिल्ममा खेलेका रहेछन् भन्ने उक्त भिडियोले पुष्टि गर्दछ । भिडियोमा कलाकारहरु कमलमणि नेपाल, विजय बराल, गौरव पहारी र मरिष्का पोखरेललाई प्रस्तुत गरिएको छ । मरिष्का बाहेक अरु तीनैजना कलाकारहरु पनि सहज ढंगले प्रस्तुत हुन सकेको देखिदैन ।

यौनलाई प्रस्तुत गर्ने ढंग नपुर्याउँदा त्यो पोर्न फिल्म हुने खतरा रहन्छ । मि.भर्जिन पोर्न समुदायतिर नजीक देखिन्छ । यौनलाई कलात्मक ढंगले प्रस्तुत गर्दा त्यही नै सुन्दर देखिन्छ, अश्लिलतालाई साहित्यले ढाक्नु पर्छ त्यो नै कलात्मक हुन सक्छ । कला छ्याङ्गै हुनु पर्छ नांगो होईन ।
तर यो अत्यन्तै जोखिमपूर्ण काम भने हो । संसारमा कला र साहित्यको सुन्दर प्रयोग गर्नेहरुले नै उत्कृष्ट सिर्जना पनि गरेका छन् ।

फिल्ममा द्विअर्थ लाग्ने संवादहरु मात्र छन् । तर्क गर्नलाई त पर्याप्त होला । तर त्यसमा अनुहार देखाएर तर्क गर्न चाहीँ निर्माण पक्षले पनि गति नै छाड्नुपर्छ । फिल्मभरिको संवाद निकृष्ट र घटिया मात्र होइन कि त्यो भन्दा तल्लो स्तरको छ । दुनिञामा यस्तो फिल्म हामीकहाँ मात्र बनेको होईन । यस्तो द्विअर्थी संवाद भएका फिल्म अरुतिर पनि बनेका छन्, भारतमै पनि । तर त्यसलाई यौनशिक्षा दिन उपयोग गरिएका छन् । मि.भर्जिनमा भने भद्दा उपयोग मात्र गरिएको छ । साप्ताहिक सम्पूर्णमा लेखिएको छ ।

फिल्मका मुख्य कलाकारहरु कमलमणि नेपाल, विजय बराल, गौरव पहारीहरुले चरीत्र अनुसारको भुमिकामा बडो कष्टका साथ संवाद बोलेको देखिन्छ । कमल र विजय राम्रा कलाकार हुन् तर कलाकारहरुले कहिलेकाँही ठीक चरीत्रको छनौट नगर्दा उसको करियर नै धराशायी हुन्छ भन्ने कुरामा यी दुवै चुकेका छन् । गौरवको अभिनयको उत्कर्ष ‘साँईली’ मै सकिएको हो कि भन्ने भ्रम पैदा गर्छ । राम्रा कलाकारहरुले यस्ता फिल्म नगरेकै राम्रो । यस्ता फिल्म गर्ने कलाकारहरु अरु नै थुप्रै पाईन्छन् । अरु दुनियाँमा पनि यस्ता फिल्म गर्ने कलाकारहरु बेग्लै हुन्छन् ।

मरिष्का पोखरेललाई ठाउँठाउँमा वेश्या नै देखिन्छ जसलाई उनले निरन्तरता दिन सकेकी छैनन् । उनको चरीत्रमा ‘कन्टीन्युटी जर्क’ छ । उनको आँखामा मादकता त छ, तर त्यो मादकता रेडलेबलको बोटलमा भएको लोकल ठर्रा जस्तै लाग्छ । भोला सापकोटालाई बढी नाटकीय बनाईएको छ । प्रहरी निरिक्षक र ट्याक्सी ड्राईभर बीचको सम्बन्ध घोषणा गरेर ट्विस्ट दिन खोजिएको छ, तर पत्यार लाग्दैन ।

कथा र कथावाचनमा अत्याधिक र अस्वाभाविक ‘लिबर्टी’ लिईएको छ । जसले गर्दा फिल्मभरि त्रुटी असरल्ल भेटिन्छन् । अनि नेपाली फिल्मकर्मीहरुले भेटिएका हरेक त्रुटीलाई ‘लिबर्टी’ को नाम दिन थालेका छन् ।

फिल्ममा देखाईएको ‘खतरा’ प्रहरी अधिकृत जसलाई आफ्नै लोग्नेको ट्याक्सी नं. पनि थाहा नहुनु लिबर्टीकै एउटा नमुना होला । भेटिएका हरेक चरीत्रको नारी प्रति यौनजन्य दृष्टिकोण मात्र पाईनु समाजलाई भद्दा गाली होईन र ? चाहे त्यो कमेडी फिल्ममा लिईएको लिबर्टी नै किन नहोस । मोबाईल लोकेसन ट्रेस गर्नु, फिल्मभरि एकपल्ट मात्र प्रहरी साईरन बज्नु पनि लिबर्टीकै एउटा हिस्सा भएको छ । यो लिबर्टी पनि बडो गज्जबको छ, जहाँजहाँ निर्देशकलाई आवश्यक हुन्छ, त्यहाँत्यहाँ प्रयोग हुन्छ । तर त्यो प्रयोग निर्मम तरिकाले गरिएको छ । लिबर्टीको नाममा जे पायो त्यही गर्ने अधिकार कसैसँग हुँदैन ।

रविन्द्र झा अर्का राम्रा कलाकार हुन् । तर उनी पनि अब ‘मोनोटोनस’ हुन थाले । जात्रा हेर्दा पनि उही, सुनकेशरी हेर्दा नि उही, अनि नयाँ मि.भर्जिन हेर्दा नि उही । होला, निर्देशकले उनलाई त्यही चरीत्रमा नै प्रस्तुत गर्न खोजेका, तर कलाकारले चरीत्रको उपयुक्त छनौट गर्न सक्नु पनि पर्छ । नत्र त कलाकारको पनि असमय मृत्यु निश्चित छ ।

फिल्ममा रंगमञ्चका कलाकारहरुको भरमार छ । तर त्यसैको आधारमा फिल्मलाई राम्रो भन्न सकिने ठाउँ छैन । बरु रंगमञ्चका कलाकारहरु प्रति नै विकर्षण पैदा हुन सक्ने जोखिम बढेको छ । मुलधारका निर्माता तथा वितरकहरु रंगमञ्चका कलाकारहरु प्रति सकारात्मक छैनन् र उनिहरु मुलधारमा टिकिरहुन् भन्ने पनि चाहँदैनन् । त्यसैले उनिहरुले दयाहाङ्ग राईलाई राजेश हमाल बनाई छाडे ।

समग्रमा यस्ता फिल्मले आकर्षण हैन, सम्पूर्ण फिल्महरु प्रति नै विकर्षण पैदा गर्दछ । र, अन्ततः नेपाली फिल्मको हालत भारतमा भोजपुरी फिल्मको जस्तो हुन सक्छ । नेपाली फिल्म उपर भईरहेको देशीय र अन्तरदेशीय राजनीतिको शिकार जानेर वा नजानेर नेपाली फिल्मकर्मीहरु भईरहेका छन् जसको उनीहरु आफैलाई हेक्का छैन ।

चलचित्र विकास बोर्डले यसलाई ‘ए’ होईन ‘एक्स’ सर्टिफिकेट दिनुपर्ने थियो । शायद त्यो प्रावधान नभएर होला । तर पछिल्लो समय नेपालमा बनिरहेका फिल्महरु हेर्दा त्यो सर्टिफिकेटको प्रावधान पनि राख्नुपर्ने देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *