नक्कली कागजात बनाउने ४ जना धरानबाट पक्राउ

धरान, भदौ १ । धरानको व्यस्त बजार महेन्द्र पथमा रहेको मिक कम्प्यूटर प्रालिका सञ्चालक तथा नेपाली काँग्रेस महासमितिका सदस्य राजकुमार थोप्रा सहित चार जना पक्राउ परेका छन् ।

विभिन्न कागजातहरु नक्कली किर्ते गरिएको गोप्य सूचनाका आधारमा छापा मार्ने क्रममा बिहिबार ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजकुमार थोप्रा, राम सेवा, मिक कम्प्युटर प्रालिमा नै कार्यरत थोप्राका सहयोगी कर्मचारी वीरध्वज लिम्बू र सरोज योङहाङ रहेका छन् ।

विभिन्न सरकारी कार्यालयका कागजातहरु नक्कली बनाएर बिक्री गरेको भन्दै संघीय इकाइ प्रहरी कार्यालयको टोलीले मिक कम्प्युटरमा छापा मारी किर्ते कागजात सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस्ता सामाग्री फेला परेसँगै मिक कम्प्यूटरलाई प्रहरीले सिलबन्दी गरेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मिक कम्प्यूटरबाट नागरिकता, कलेजको सर्टिफिकेट, एसएलसीको सर्टिफिकेट, मार्कसिट बनाउन प्रयोग हुने कागज ठुलो परिणाममा बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै नक्कली कागजात बनाउन प्रयोग हुने कम्प्यूटर प्रिन्टर समेत बरामद गरिएको छ । उनीहरुमाथि प्रहरीले लामो समयदेखि निगरानी राखेको बुझिएको छ ।

पक्राउ परेका टोलीले लामो समयदेखि भारतीय नागरिकता र पासपोर्ट, विदेश जाने युवाहरुको नक्कली शैक्षिक प्रमाण पत्र, ब्रिटिस आर्मि भिड्ने युवाहरुको नक्कली सर्टिफिकेट बनाएर पैसा असुली गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सोही विषयमा पक्राउ परेकाहरुको आज शुक्रबार ३ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *