पर्सा जिल्लामा महिला हिंसाका घटनाहरूमा वृद्धि

साउन ९, वीरगंज । पर्सा जिल्लामा महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटनाहरूमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत आर्थिक वर्ष २०७३/७४ मा जिल्ला प्रहरी कार्यालय पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा महिलामाथि भएका विभिन्न किसिमका हिंसासम्बन्धी १३२५ वटा उजुरी परेका छन् ।

जुन अघिल्लो आर्थिक वर्ष २०७२/०७३ भन्दा झन्डै डेढ गुणा बढी भएको केन्द्रमा कार्यरत प्रहरी हवलदार राजकुमारी थापाले बताइन् । अघिल्लो आर्थिक वर्ष २०७२/०७३ मा ८६० वटा मात्र उजुरी परेको थियो ।

गत आर्थिक वर्ष २०७३/०७४ को साउनदेखि असार मसान्तसम्ममा महिला हिंसामध्ये सबैभन्दा बढी घरेलु हिंसाका घटनाहरूको उजुरी परेको प्रहरी हवलदार थापाले बताइन् । त्यसमा पनि दाइजोको बहानामा महिलालाई प्रताडित गरेको उजुरीहरू बढी आउने गरेको उनले बताइन् ।

यस्तै, मादक पदार्थ सेवन गरेर पतिले पत्नीलाई कुटपिट गरेका घटनाहरू पनि बढी सङ्ख्यामा आउने गरेको छ । अहिले केटाकेटी घरबाट भाग्ने गरेका घटनामा पनि एक्कासि वृद्धि भएको प्रह थापाले बताइन् । केटाकेटी भागेपछि अभिभावकले खोजी गरिदिन भनी दिने निवेदनको सङ्ख्यामा वृद्धि भएको उनले बताइन् । महिला तथा बालबलिका शाखामा दैनिक ४/५ वटा यस्ता उजुरी पर्ने गरेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *