तीन कोइराला एक हुँदा सिटौलालाई सास्ती


साउन ९, काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार गठन गरेको डेढ महिनासम्म पनि सरकारले पूर्णता पाउन नसक्नुमा काँग्रेस पार्टी भित्रकै आन्तरिक कलह देखिएको छ । काँग्रेस भित्र सरकारमा जाने आकांक्षीहरु धेरै भएकाले सरकार विस्तारमा ढिलाइ भएको हो ।
अहिले काँग्रेस भित्र हाबी भएका कृष्ण प्रसाद सिटौला र गगन थापाविचको कलहले पनि सरकार विस्तारमा रडाँको मच्चिएको हो । यसअघि स्वास्थ्य मन्त्री भइसकेका गगन थापाले सिटौलालाई पुनः स्वास्थ्यमन्त्री नपाए सिटौलाको गुटलाई निमिट्यान्न पार्ने चेतावनी दिएपछि सिटौलाको निद हराम भएको छ ।
यस अघि स्वास्थ्यमन्त्री भएर जनताका लागि धेरै नितीगत सुधार गरेका थापाले मन्त्रालय अन्र्तगतका विभिन्न स्वास्थ्य प्रतिष्ठान र काउन्सिलहरुमा पदाधिकारी नियुक्त गर्दा भने, सिटौलाकै निर्देशनमा मान्छे भर्ती गरेर आलोचित भए । उनले सिटौलालाई ‘कि तपाईँ आफैँ सरकारमा जानु प¥यो की गुटको महामन्त्रीको उम्मेद्धारको हैसियतले मलाई पठाउनुस्’ भन्दै वार्गेनिङ गरिरहेका छन् ।
सिटौला गगन थापाको सरकारमा जानुपर्ने अड्डी पछि दोधारमा परेका छन् । उनले यसअघि काठमाडौँका भिमसेन दास प्रधानलाई सरकारमा पठाउने निर्णय गरिसकेका छन् ।
गगनको गुनासो
गगन थापा मन्त्रीहुँदा स्वास्थ्य मन्त्रालय अन्तर्गत हुने सबै कृयाकलापहरुमा नेता सिटौलाले हस्तक्षेप गरेको र प्रायः सबै नियुक्ति तथा सरुवा बढुवाहरुमा सिटौलाले हस्तक्षेप गरेको गुनासो छ । र, त्यसकै पैचो सिटौलाले तिर्नुपर्ने भन्दै थापाले सिटौलासँग वार्गेनिङ गरेको काँग्रेस मुख्य कार्यालय स्रोत दाबी गर्दछ ।
गगन थापाले नियुक्तिमा कसैसँग कुनै पैसा नलिएपनि हरेक नियुक्तिमा सिटौला हाबी हुँदा करोडौंसम्मको चलखेल भएको चर्चा व्याप्त छ । अहिले सिटौलालाई सरकारमा पठाएर गगन थापा सोही दृश्य दोहो¥याउन खोज्दैछन् ।
सिटौलाले थापालाई पदाधिकारी नियुक्तिमा चलखेल गर्दा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति र अस्पताल निर्देशक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति, रजिष्ट्रार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रार तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति नियुक्तिबाट करोडौं आम्दानी गरेको पार्टी भित्रै चर्चा छ । पदाधिकारी नियुक्तिमा सिटौला हाबी हुँदा गगन थापा रबरस्ट्याम्प बन्न बाध्य भए । र, ‘जसोजसो पुरोहित उसैउसै स्वाहा’ गरे ।
स्रोतका अनुसार सिटौलाले गगन थापालाई देउवाको सरकारमा पुनः स्वास्थ्यमन्त्री बनाउने बाचा गरेका थिए । तर, थापाले केही मेडिकल व्यापारीलाई चिढ्याएपछि उनीहरू कुनै पनि हालतमा थापालाई पुनः मन्त्री हुन नदिने पक्षमा खुलेरै लागेका छन् । सिटौलाले थापालाई फ्याँकेर भिमसेनदास प्रधानलाई काखी च्यापेपछि थापा झनै आगो भएका छन् । उनी ‘माओवादीले जनार्दन शर्मालाई दोहोर्याउन हुने काँग्रेसले किन नहुने ?’ भन्दै पार्टी अध्यक्ष र सिटौलासँग मुर्मुरिएका छन् ।
अहिले स्वास्थ्य मन्त्रालयमा एमाओवादीले दाबी गरेर गिरीराजमणी पोखरेललाई पठाउने आन्तरिक तयारी समेत गरिसकेको छ । भोलि र पर्सीसम्ममा सरकार विस्तार भए स्वास्थ्य मन्त्री पोखरेल हुने निश्चित देखिएको छ । माओवादीको केन्द्रीय समितिले पोखरेलको नाम सदर गरेको बुझिएको छ ।
सिटौलाको दाउ
स्वास्थ्य मन्त्रालयबाट पदाधिकारी नियुक्तिमा मज्जैले कमाएका सिटौलाले भिमसेन दास प्रधानमार्फत अर्को कमाई हुने मन्त्रालयको खोजीमा छन् ।
अहिले सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाई, जनसङ्ख्या तथा वतावरण, पशुपक्षी विकास, भुमिसुधार तथा व्यवस्था, भौतिक पूर्वाधार तथा यातायात महिला बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद रक्षा वन तथा भूसंरक्षण। विज्ञान तथा प्रविधि, शान्ति तथा पुर्ननिर्माण, संस्कृति, पर्यटन, सहकारी गरिबी, सूचना तथा सञ्चार मन्त्रालय मन्त्री विहिन छन् । यी मन्त्रालय मध्ये काँग्रेसको भागमा १३ ओटा मन्त्रालय परेको छ । सो मध्ये सबैभन्दा ठुलो बजेट भएको मन्त्रालयमा भिमसेनदास प्रधानलाई लैजाने तयारी सिटौलाको छ । यसका लागि उनले रामचन्द्र पौडेल र देउवासँग वार्गेनिङ गरिरहेका छन् ।
के होला सिटौला गुट ?
माओवादी शान्ति प्रक्रियामा आउने बेला तत्कालीन सरकारका गृहमन्त्री कृष्ण प्रसाद सिटौला स्वर्गिय गिरिजा प्रसाद कोइरालाका प्रिय पात्र थिए । उनले त्यत्तिबेला माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन ठुलै भूमिका खेले । र, धेरैले उनलाई गरिजा प्रसाद पछिको नेताका रूपमा पनि अथ्र्थाए । तर, ‘नारद’ प्रवृत्तिका सिटौला धेरै समयसम्म टिक्न सकेनन् । फल स्वरूप आफ्नै पार्टी भित्र गुट बनाएर बस्न बाध्य भए ।
गिरिजा प्रसाद कोइरालाको विरासत लिन्छु भन्दै कोइरालाका मान्छे चोरेर नेता रामचन्द्र पौडेललाई सिध्याउँदै शेर ब. देउवाको सरकारमा चढ्ने भर्याङ्ग बनेका नेता सिटौलाको गुट अहिले हल्लिएको छ ।
उनी कहिले कोइरालाहरुसँग टाँसिएर देउवालाई थर्काउने त कहिले देउवासँग बसेर कोइरालाहरु भित्र खेल्ने ‘नारद’ बनेका छन् । उनी कसरी हुन्छ पौडेल र कोइराला परिवार बिच फ्याक्सन ल्याएर आफू अघि बढ्ने रणनीतिमा छन् । तर, गत साता तीन कोइराला (शेखर, शशांक र सुजता) बिचको भेटघाटबाट सिटौलाको ढ्याङ्ग्रो बजेको छ । तीन कोइराला एक भएर कतै आफ्नै ढ्याङ्ग्रो बजाउने त हैन ? सिटौला शंशंकित भएका छन् र, जसरी हुन्छ कोइराला बिच कलह मच्चाएर उनीहरूलाई तीन तिर बनाउने षड्यन्त्रमा छन् ।
सिटौलाको ‘नारदे’ चरित्रबाट आजित भएका केही नेताहरू आगामी महाधिवेशसम्म सिटौलालाई जसरीपनि झेल्ने त्यसपछि उनको गुटको पत्ता साफ गर्ने रणनीतिमा लागेका छन् ।
यता मन्त्री परिषद्मा ३३ प्रतिशत महिला सहभागिता नगराईए नेपाल महिला सङ्घले विद्रोह नै गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *