सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा, कहाँ कति ?


“
सोलुखुम्बु, साउन ९ । सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ । निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेका स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका सूचना अधिकारी युवरज थापाले जानकारी दिए ।
सूचना अधिकारी थापाका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ता बापतको रकम रु ११ करोड ५५ लाख ७० हजार र खुम्बुपासाङल्हमु गाउँपालिकामा पाँच करोड ६६ लाख २० हजार निकासा भएको छ ।
यस्तै, दूधकोशी गाउँपालिकामा रु सात करोड पाँच लाख ४० हजार, दूधकौशिका गाउँपालिकामा नौ करोड ४० लाख १० हजार, नेचासल्यान गाउँपालिकामा आठ करोड १८ लाख २६ हजार, सोताङ गाउँपालिकामा पाँच करोड २९ लाख १९ हजार, महाकुलुङ गाउँपालिकामा ६ करोड ४७ लाख नौ हजार र लिखुपिके गाउँपालिकामा चार करोड ७३ लाख ४६ हजार बजेट निकासा भएको छ ।
यस वर्ष जिल्लाका आठवटै स्थानीय तहमा गरी कुल रु पाँच अर्ब ८३ करोड पाँच लाख ३९ हजार बजेट विनियोजन भएकामा त्यसको पहिलो किस्ता बापतको रकम निकासा भएको हो ।
बजेटको अख्तियारी पठाइएको भए पनि खर्च गर्नका लागि स्थानीय तहले नीति तथा कार्यक्रम पारित गर्नाका साथै विशेष परिषद्समेत गर्नुपर्ने हुन्छ । हालसम्म सोलुखुम्बुका कुनै पनि स्थानीय तहले स्थानीय तह सञ्चालन कार्यविधि पारित गरेका छैनन् भने त्यसपछि हुने नीति तथा कार्यक्रमको विषयमा छलफलसमेत शुरु भएको छैन । यसले गर्दा बजेट कार्यान्वयनमा भने अझै केही समय लाग्ने देखिएको छ ।
“
