भदौसम्म कुनै सुधार नभए कालिमाटी बजार नै बन्द गराउने कृषिमन्त्रीको चेतावनी

काठमाडौं, असार १९ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म कालिमाटी बजारमा कुनै सुधार नआए बजार नै बन्द गराउने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौँमा भएको साक्षात्कारमा बोल्दै मन्त्री खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाउन बाध्य हुने चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले भने, ‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिईएको छ, त्यति गर्दापनि कुनै सुधार भएन भने बजार हटाईन्छ ।’

विभिन्न ठाउँमा गरीएका अनुगमनलाई केलाउँदै मन्त्री खनालले जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई आवश्यक कारबाही गरिने चेतावनी दिएका हुन् ।

उनले आफू स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरु सुधार गर्न जरुरी रहेको हुँदा भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारे ।

साक्षात्कारमा बोल्दै उनले कालिमाटी फलफुल तथा तरकारी बजार स्थलमा रहेका स्टलहरु समितिले निर्धारण गरेको मुल्यभन्दा दशौं गुणा बढि लिईएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए ।

उनले भने, ‘समितिसँग दश हजारमा स्टलहरु लिएर ती व्यक्तिहरुले उक्त स्टलहरु आफूले नचलाईकन दशौं गुणा बढि पैसा लिएर अरुलाई चलाउन दिईएको भेटियो, दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु ।’

कतिपय स्टलहरुमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरु समेत राखिएको उनको गुनासो छ ।

मन्त्री खनालले किसानहरुले आफूले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरुसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए । उनले भने,‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु ।’

उनले पानीमा देखिएको खराबीमा आफूहरुले दिएको निश्चित् समयसिमाभित्र पनि सुधार नगरे बाध्य भएर पानी उद्योगमा तालाबन्दी गर्ने पनि चेतावनी दिए ।

खनालले दुध र पानीमा कोलिफार्म र सोडा भेटिएको उल्लेख गर्दै भने, ‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दुधका नमूना संकलन गरेर परिक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुैन मात्रामा सोडा पाईएको छ, तर धेरैजस्तो दुधमा दुध नफाटोस भनेरमात्रै सोडा प्रयोग गरेको पाईयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दुध पिउन पाउनुपर्छ ।’ त्यस्तै जार र मिनरल वाटर लगायतका पिउने पानीमा समेत कोलिफार्म भेटिएको उनको भनाई थियो ।

मन्त्री खनालले भने, ‘पानीको ४२ वटा नमूना लिँदा झण्डै ३९ नमूनामा कोलिफार्मको मात्रा भेटिएको थियो, यसलाई पनि शुन्यमा झार्नुपर्छ, मन्त्रालयमा गठित अनुगमन संयन्त्रलाई निर्देशिका तत्काल लागु गर्नका लागि मैले निर्देशन समेत दिएको छु ।’

आगामी तीन महिनाभित्र सुधार नभए निर्देशिका बमोजिम जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई आवश्यक कारबाही गरिने उनको चेतावनी थियो । यद्यपी उनले अहिले बजारमा हल्ला भएजस्तो दुधमा युरिया भने नभेटिएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =