प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज सकिदै, प्रदेश ५ मा शुरु हुँदै

काठमाडौं, असार १० । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज सकिदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई, गृह र परराष्ट्र मन्त्रीहरु समेत चीन भ्रमणमा गएकाले ती मन्त्रालयमाथिको छलफल केही दिन पछि धकेलिएको हो ।

आज अन्तिम दिन ती मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयमाथि छलफलको कार्यसूची छ । प्रधानमन्त्री ओली सहितको टोली बिहान साढे १० बजे काठमाडौं ओर्लने भएकाले आजको बैठक अपरान्ह २ बजेका लागि राखिएको संघीय संसद सचिवालयले जनाएको छ ।

छलफलका क्रममा सांसदहरुको जिज्ञासामाथि सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् । सरकारले आगामी आर्थिक वर्ष सुरु हुनु अगावै पूर्ण बजेट पारितको तयारी गरेको छ ।

प्रदेश ५ मा शुरु हुँदै

प्रदेश ५ को प्रदेश सभाको बैठक अस्थायी मुकाम बुटवलमा बस्दैछ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेट खर्च व्यवस्थापनका लागि बनेको बिनियोजन विधेयक माथी छलफल शुरु हुनेछ । सभामुख पूर्णबहादुर घर्ती हिजोसम्म काठमाण्डौमा रहेकाले कार्य व्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन ।

प्रदेश सभाको कार्यसुची तय गर्न समितिको बैठक विहान ११ बजे बस्दैछ ।  प्रदेश सभाका सदस्य एवं तत्कालिन एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले बैठकबाट बिनियोजन विधेयक माथि छलफल शुरु हुने भएपनि कुन मन्त्रालय अन्र्तगतको छलफल शुरु हुने भन्ने टुंगो नलागेको बताउनु भयो ।

बुधवार बसेको प्रदेश सभा बैठकमा आगामी बर्षको बजेट माथिको सैद्धान्तिक छलफल सकिएपछि बिनियोजन विधेयक पेश भएको थियो । प्रदेश सभाबाट बिनियोजन विधेयक पारित भएपछि मात्र सरकारलाई आगामी वर्षको बजेट खर्च गर्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *