विश्वकप २०१८ः फेरि फर्किएका पोल्याण्ड र सेनेगल भिड्दै

काठमाडौँ, असार ५ । अफ्रिकी देश सेनेगल र युरोपेली देश पोल्याण्डबिच विश्वकप फुटबलमा मंगलबार भेट हुँदैछ । रुस विश्वकप यात्रा दुवै देशले मंगलबारदेखि सुरु गर्दै छन् ।

दोस्रा पटक विश्वकप खेल्न लागेको सेनेगल र आठौँ पटक विश्वकप खेल्न लागेको पोल्याण्ड रुस विश्वकपका लागि समूह एच मा छन् । समूह चरणको पहिलो खेलमा यी दुई देशबिच भेट हुन लागेको हो । खेल नेपाली समय अनुसार मंगलबार राति पौने ९ बजे हुनेछ ।

पोल्याण्ड र सेनेगल दुईमा एक एक जना स्टार स्ट्राइकर छन् । पोल्याण्डको टिममा रोबर्ट लेवान्डोस्की तथा सेनेगलको टिममा साडिओ माने छन् ।

विश्वकप छनौटको क्रममा पोल्याण्डका कप्तान लेवान्डोस्की सबैतिर चर्चामा रहे । उनले छनौटको समूह चरणमा १० खेलमा १६ गोल गरे । यो पोल्याण्डको तर्फबाट भएको २८ गोलको आधा भन्दा धेरै हो ।

बुण्डेसलिगा क्लब बार्यन म्युनिखबाट खेल्ने उनले गएको सिजन लिगमा २९ गोल गरे भने समग्रमा सबै प्रतियोगितामा गरेर ४१ गोल गरे ।

लिभरपुलबाट खेल्ने माने सेनेगलका आश हुन् । उनले गएको सिजन लिभरपुलका लागि सबै प्रतियोगितामा  २० गोल गरे । उनले च्याम्पियन्स लिगमा १० गोल गरेका छन् ।

हेड–टू–हेड

पोल्याण्ड र सेनेगलबिच अहिलेसम्म भेट भएको छैन । विश्वकपको समूह चरणमा हुन लागेको यो दुई टोलीबिचको पहिलो प्रतिस्पर्धा हो । दुवै टोली एक अर्काका लागि नयाँ छन् ।

तर पोल्याण्डले विश्वकपमा अहिलेसम्म अफ्रिकी देशसँग हार बेहोरेको छैन । अहिलेसम्म विश्वकपमा अफ्रिकी देशसँग भएका तीन भेटमा पोल्याण्ड एक खेलमा विजयी भएको छ भने दुई खेलमा बराबरी ।

यी तीन खेलमा एउटा मात्रै गोल भएको छ । पोल्याण्ड विश्व बरियताको आठौँ तथा सेनेगल २७ औँ स्थानमा छ ।

पोल्याण्ड

पोल्याण्ड १२ वर्षपछि विश्वकपमा फर्किएको हो । उसले पछिल्लो पटक सन् २००६ को विश्वकप खेलेको थियो ।

पोल्याण्डले पछिल्लो पटक समूह चरण पार गरेको सन् १९८६ को विश्वकपमा हो । सन् २००२ र २००६ को विश्वकपमा पोल्याण्ड समूह चरणबाटै घर फर्किएको थियो ।

विश्वकपमा भएका पछिल्ला ८ खेलमा पोल्याण्ड ६ खेलमा पराजित भएको छ । उ दुई खेलमा मात्रै विजयी भएको छ । उसले आफूले गोल नखाइ विश्वकपको खेल जितेको सन् १९८६ मा हो । त्यो बेला पोल्याण्डले पोर्चुगललाई १–० ले हराएको थियो ।

पोल्याण्डले विश्वकपमा आफ्नो पहिलो खेलमा जित निकालेको अहिलेसम्म एक पटक मात्रै हो । बाँकी तीन खेलमा हार तथा तीन खेलमा बराबरी भएको छ । उसले आफ्नो पहिलो खेलमा जितेको भनेको सन् १९७४ को विश्वकपमा हो । त्यो बेला पोल्याण्डले अर्जेन्टिनालाई ३–२ ले हराएको थियो ।

सेनेगल

दोस्रो पटक विश्वकप खेल्न लागेको सेनेगल १६ वर्षपछि विश्वकपमा फर्किएको हो । उसले सन् २००२ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यसबेला सेनेगल क्वाटरफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा टर्कीसँग पराजित भएर उ घर फर्किएको थियो ।

सेनेगल यसअघिको आफ्नो विश्वकप सहभागितामा समूह चरणका खेलमा अपराजित छ । सन् २००२ मा उसले एक खेल जितेको थियो भने दुई खेलमा बराबरी गरेको थियो । त्यो बेला उसले आफ्नो पहिलो खेलमा फ्रान्सलाई १–० ले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *