नियम उल्लंघन गर्ने व्यावसायीलाई ५ दिन भित्रमा कारबाही, इजाजत पत्र खारेज गरिने

काठमाडौँ, असार ४ । कालिमाटी फलफुल तथा तरकारी बजारमा कार्यविधि उलंघन गरेर व्यवसाय गर्ने व्यापारीलाई लिखित स्पष्टिकरण पेश गर्न दिएको म्याद आइतबार सकिएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले एक हप्ताको म्याद दिएर उनीहरुलाई कारबाही गर्ने भनेपनि व्यापारी पत्र बुझ्न नआएपछि कारबाही प्रक्रिया लम्बिएको हो ।

आइतबार नै कारबाहीका लागि म्याद सकिएतापनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बल्ल पत्र बुझाएको छ ।

पत्र बुझ्न नआउने दुई जना व्यावसायीको पसलमा आइतबार पत्र टाँस गरिएको छ । पत्र बुझेको एक हप्ता भित्रमा लिखित स्पष्टिकरण बुझाउनु पर्ने प्रावधानका कारण आगामी ९ गतेदेखि मात्र कारबाही प्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री चक्रपाणी खनाल नेतृत्वको टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा वर्गीकरण गरेको थियो । जसअनुसार कार्यविधि पूर्ण रुपमा उल्लंघन गर्ने ९९ जनालाई रातो, अलि कम उलंघन गर्ने १३१ जनालाई निलो, फाट्ट फुट्ट नियम उल्लंघन गर्ने २०९ जनालाई पहेलोमा वर्गीकरण गरेको थियो । पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन् ।

आइतबार सम्म रातो समूहमा पर्ने ९० जनाले स्पष्टिकरण पेश गरेका छन् । बाकी भने अनुपस्थित रहे । अब उनीहरुमाथि असार ९ गतेपछि बोर्ड बैठक बसेर कारबाही प्रकृया थालिने कालिमाटी फलफूल तथा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए ।

कसैले विरामी परेको, आफू विदेशमा भएकाले आफन्तले व्यवसाय सञ्चालन गरेको जस्ता कारणसहितका स्पष्टिकरण आएको भन्दै पोख्रेलले ९९ जनामध्ये एकदुई जनाबाहेक सबैको इजाजत पत्र खारेज गरी सम्झौता रद्ध गरिने जानकारी दिए ।

बोर्ड कालिमाटि फलफूल तथा तरकारी बजार विकास समिति, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय छ ।

निलो समूहमा परेका १३१ जनामध्येबाट झण्डै २०/२५ जना रातो समूहमा पर्ने देखिएको छ । रातो समूहमा पर्नेले पनि बोर्ड बैठक बसेर निर्णय गर्नु अघिसम्म व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । समितिलाई बोर्ड बैठकले निर्णय नगरी कारबाही गर्ने अधिकार नभएकाले प्रक्रिया लम्बिएको पोख्रेलको भनाइ छ । कारबाहीबाट जोगिन व्यापारीले दबाब दिने गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *