विश्वकपः जर्मनीका यात्रामा तगारो बन्न सक्छ मेक्सिको

“
काठमाडौँ, असार ३। विश्व विजेता जर्मनीले आइतबार रुस विश्वकपमा आफ्नो यात्रा सुरु गर्दैछ । समूह एफ मा रहेको जर्मनीले मेक्सिकोसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्दैछ र यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
जर्मनीका मेसुट ओजिल घुँडाको सामान्य चोटबाट मैदान फर्किएका छन् । उनी यो चोटका कारण विश्वकपअघिको साउदी अरेबियासँगको अन्तिम अभ्यास खेलमा मैदान बाहिर रहेका थिए । प्रशिक्षक योआखिम लोले जर्मनीको टिमलाई विश्वकपका लागि तयार गरेका छन् ।
मेक्सिकोको कुरा गर्दा विश्वकपको तयारीमा उसलाई केही धक्का लागेको छ । उसका रक्षापंक्तिका दुई मुख्य खेलाडी चोटग्रस्त भए ।
मेस्तोर अराउजो घुँडाको समस्याका कारण मैदानमा जान नसक्ने भएपछि टिमबाट बाहिरिन बाध्य भए । यस्तै डिएगो रेयिस पनि गएको बुधबार टिमबाट बाहिरिन बाध्य भए । लामोसमयदेखिको चोटका कारण उनी टिमबाट अलगिन बाध्य भएका हुन् । उनको ठाउँमा मिडफिल्डर एरिक गुतिइरेज आएका छन् ।
ओभरभ्यू
जर्मनीको लयका बारेमा कुरा गर्दा जहिले अरु टिमलाई के भन्ने खालको हुन्छ । उसको लयमा फेरबदल आए जस्तो देखिन्छ अनि फेरि लय समात्छ । जर्मनीले रुस विश्वकपमा यात्रा तय गर्ने क्रममा युरोपियन क्षेत्रको छनौटमा १० मा १० खेलमा मै जित निकालेको हो । यसक्रममा उनसले कीर्तिमानी ४३ गोल गरेको थियो । तर उसले ६ मैत्रीपूर्ण खेलमा एकमा मात्रै जित निकाल्यो । उनले मैत्रीपूर्ण खेलमा पछिल्लो पटक जित निकालेको भनेको साउदी अरेबियामाथि २–१ को हो ।
जर्मनी सन् १९६२ पछि लगातार दोस्रो पटक विश्वकप जित्ने पहिलो टिम बन्ने लक्ष्यका साथ रुस पुगेको छ । यसका लागि उसले भव्य तयारी गरेको छ । मिडफिल्डर टोनी क्रसले पनि भनेका छन्, ‘हामीले जहिले पनि मैदानमा गएपछि र खेल सुरु भएपछि आफूलाई प्रमाणित गर्ने गरेका छौँ ।’
मेक्सिकोको कुरा गर्दा उसको तयारी राम्रै छ । तर जर्मनी उसका लागि निकै बलियो प्रतिस्पर्धी हो । गएको वर्ष फिफा कनफेडेरेशन कपको सेमिफाइनलमा मेक्सिको जर्मनीसँग ४–१ ले पराजित भएको थियो । तर कोलम्बियन प्रशिक्षक आन कार्लोस आसोरिओको रणनीतिले मेक्सिकोलाई बलियो बनाउने देखिन्छ । यस्तै टिममा रहेका अनुभवी खेलाडी पनि मेक्सिकोको बलियो पक्ष हो । मेक्सिकोको टिममा रहेका मध्ये १३ खेलाडीले ५० भन्दा धेरै खेलमा राष्ट्रिय टिमबाट खेलेका छन् ।
हेड–टू–हेड
यी दुई टोलीबिच अहिलेसम्म ११ पटक भेट भएको छ । यसमा मेक्सिको एकपटक मात्रै विजयी भएको छ । जर्मनी पाँच खेलमा विजयी भएको छ भने पाँच खेल बराबरीमा सकिएको छ । मेक्सिकोले जर्मनीलाई हराएको ३३ वर्ष भइसक्यो । उसले सन् १९८५ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनीमाथि जित निकालेको थियो ।
यी दुई टोलीबिच विश्वकपमा यसअघि तीनपटक भेट भएको छ र यो चौथो भेट हो । विश्वकपमा भएका यसअघिका भेटमा जर्मनी दुई खेलमा विजयी भएको छ भने एक खेलमा पेनाल्टीमा जर्मनीले नतिजा आफ्नो पक्षमा पारेको छ । विश्वकपमा जर्मनीले मेक्सिकोमाथि पहिलो पटक सन् १९७८ मा समूह चरणमा ६–० को जित निकाल्यो ।
त्यसपछि सन् १९९८ को विश्वकपमा अन्तिम १६ मा मेक्सिको जर्मनीसँग २–१ ले पराजित भयो । यस्तै सन् १९८६ को विश्वकपको क्वाटरफाइनलमा मेक्सिकोले गोलरहित बराबरी खेल्यो । तर खेल पेनाल्टीमा धकेलिएपछि जर्मनी ४–१ को जित निकाल्दै अघिल्लो चरण पुग्यो ।
जर्मनी
योआखिम लो विश्वकपको इतिहासमा त्यस्तो दोस्रो प्रशिक्षक बन्न चाहन्छन्, जसले लगातार विश्वकप जितोस् । उनले चार वर्षअघि जर्मनीलाई विश्व विजेता बनाएका थिए । यसपटक पनि त्यही उत्साह फर्काउने सोचमा छन् उनी । अहिलेसम्म इटालीका प्रशिक्षक भिट्टोरिओ पोजो एक मात्रा त्यस्ता प्रशिक्षक हुन्, जसले लगातार विश्वकप जितेको छ । उनले सन् १९३४ र १९३८ मा विश्वकप जितेका थिए ।
जर्मनीले सन् १९९० यताका सबै विश्वकपमा आफ्नो समूहको शीर्ष स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गरेको छ । यस्तै पछिल्ला चार विश्वकपमा उ कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । जर्मनीले पछिल्लो पटक विश्वकपमा आफ्नो पहिलो खेलमा गोल गर्न नसकेको भनेको सन् १९७८ मा हो । त्यो बेला उसले पोल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।
छनौट चरणमा सबै खेल जितेको जर्मनीले त्यसपछि भएका ६ मैत्रीपूर्ण खेल मध्ये एक खेलमा मात्रै जित निकालेको छ । उ दुईमा पराजित भएको छ भने तीन खेल बराबरीमा सकिएका छन् ।
मेक्सिको
मेक्सिकोले विश्वकपमा अन्तिम १६ भन्दा अघिको यात्रा तय गर्न नसकेको धेरै भयो । उ पछिल्ला ६ विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको छ । मेक्सिको घरेलु मैदानमा सन् १९७० र १९८६ मा भएको विश्वकपमा मात्रै अन्तिम ८ सम्म पुग्न सकेको थियो । मेक्सिकोले १६ औँ पटक विश्वकप खेल्दैछ । उ भन्दा धेरै पटक विश्वकप खेल्ने टिम ब्राजिल, जर्मनी, इटाली र अर्जेन्टिना मात्रै हुन् ।
१४ पटक भन्दा बढी विश्वकपमा छानिएका टिम मध्ये मेक्सिको मात्रै एउटा त्यस्तो टिम हो, जसले विश्वकप जितेको छैन । मेक्सिकाले सन् १९९४ यता विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको छैन । उ सन् १९९४ मा नर्वेसँग १–० ले पराजित भएको थियो । त्यसयता भएका विश्वकपको आफ्नो पहिलो खेलमा मेक्सिको पराजित छैन ।
मेक्सिकोले विश्वकपमा समूह चरणका पछिल्ला १७ खेलमा दुई खेलमा मात्रै हार बेहोरेको छ । ८ खेल जितेको छ भने सात खेलमा बराबरी भएको छ ।
“








