ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानलै विजयी

“
काठमाडौं, असार २ । नेपाली कांग्रेस निकट मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्यको प्यानल विजयी भएको छ । हिजो भएको निर्वाचनमा आचार्यको प्यानलै विजयी भएको हो ।
युनियनमा यसपटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलै पराजीत भयो । समग्र पार्टी पंङतीमा सभापति विरुद्ध नेता तथा कार्यकर्ताहरुको असन्तुष्ठि बढ्दो क्रममा छ । ट्रेड युनियनको निर्वाचनले पार्टीमा नेतृत्व परिवर्तन प्रष्टसँग देखिएको एक केन्द्रिय सदस्यले बताए ।
‘गएको निर्वाचनमा पार्टीले ब्यहोरेको अनपेक्षित हारबाट नेतृत्व परिवर्तनको संकेत मिलेको थियो, यसपटक ट्रेड युनियन कांग्रेसको महाधिवेशन मत परिणामले त्यसलाई अझ पुष्टि गरेको छ ।’ उनले भने ।
नयाँ नेतृत्वका लागि आचार्य र निबर्तमान अध्यक्ष खिलानाथ दाहाल प्यानलसहित निर्वाचनमा होमिएका थिए । आचार्यको प्यानललाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अर्जुननरसिंह केसी लगायतको समर्थन थियो भने, निवर्तमान अध्यक्ष दाहाल समूहलाई देउवा समूहको समर्थन थियो ।
दाहाल समुहले निर्वाचनको अघिल्लो रात झापा, मोरङ्ग र सुनसरीका केही प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पार्ने कोशिष गरेका थिए । उनीहरुको समुहले गौशाला स्थित पशुपति प्लाजामा बसेका प्रतिनिधिहरुलाई रातको साँढे ११ बजे भेट गरेर आर्थिक प्रलोभन देखाएका थिए ।
अध्यक्षमा निर्वाचित आचार्यले ८१८ मत ल्याएर विजयी भए । अध्यक्षका पराजीत उम्मेद्वार दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट दाहालको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भए ।
वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत हासिल गरेर विजयी भए । उनका निकटतम प्रतिद्वन्दी अयोध्याप्रसाद यादवले ५६७ मत पाए ।
उपाध्यक्षमा तेजेन्द्रजंग कार्की (७७९), अजयकुमार राई (७७३), उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा (७७२), उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा (७६१), उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ (८१४), उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर (८०२) र महासचिवमा योगेन्द्रकुमार कुँवर (७६९) मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
यसैगरी उपमहासचिवमा (खुल्ला तर्फ) गणेशबहादुर केसी (७११), ज्योति कोइराला (७३०), उपमहासचिव (महिला) राधिका कुँइकेल (८२४), उपमहासचिव (सेवा) सीताराम अवस्थी (७२०), उपमहासचिव (अनौपचारिक) राजेश पालिखे (७१५), उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार (७२१), कोषाध्यक्ष मोहनकुमार बस्नेत ((७६९) र सहकोषाध्यक्ष सुशीला घिमिरे (७९६) मत ल्याएर निर्वाचित भएका छन् ।
यस्तै २७ केन्द्रीय सदस्यहरुमा कूलबहादुर खड्का, जनकराज पाण्डे, दुर्गादत्त शर्मा आचार्य, ध्रुवचन्द्र गौतम, बलदेब तामाङ्ग, लक्ष्मण प्रसाद भट्टराई, विरेन्द्र कुमार शाह निवाचित भएका छन् ।
यसै गरि निर्वाचित हुने अन्य सदस्यहरु सञ्जय कुमार दाहाल, उर्मिला कुमारी ढकाल पोख्रेल, कमला खनाल, निलम लेखक जोशी, बाला थापा श्रेष्ठ, रशामाया गुरुङ्ग, लक्ष्मी केसी, सरस्वती ढुङ्गाना, देवदत्त बडु, पुन्य प्रसाद भट्टराई, अनिता मण्डल विजयी भएका छन् । भने, विजयी हुने अन्य सदस्यहरुमा केशब बहादुर केसी, माधब प्रसाद उपाध्याय, चन्दन झा, उद्धव बहादुर बानियाँ, जित बहादुर गुरुङ्ग र सितादेवी काफ्ले रहेको निर्वाचन कमिटिले जनाएको छ ।
कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको थियो । निर्वाचित भईसकेपछि अध्यक्ष पुस्कर आचार्यले मजदुरका हक अधिकार संस्थागत गरी विद्यमान समस्या समाधानमा आफ्नो प्रमुख भूमिका रहने बताए ।
“








