कर्णाली प्रदेशका सबै नागरिकको आफ्नै सुरक्षित घर हुन्छ, सुकुम्बासी बन्नु पर्दैनः मुख्यमन्त्री शाही

सुर्खेत, जेठ २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशका सबै नागरिकको आफ्नै सुरक्षित घर हुने बताएका छन् । आइतबार आफ्नै कार्यकक्षमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सबै नागरिकको आफ्नो सुरक्षित घर हुने तथा कोही सुकुम्बासी बन्नु नपर्ने बताएका हुन् ।

ज्ञापन पत्र बुझ्दै उनले भूमिहीन, सुकुम्बासी र सीमान्तकृत समुदायको झुपडिमै बसेर राज्यसत्ता परिवर्तनको लडाइ लडेको स्मरण गर्दै मुख्यमन्त्री शाहीले भूमिहीनका समस्या सामाधान गर्न आफू गम्भीर रहेको बताए ।

साथै मुख्यमन्त्री शाहीले भूमि सम्बन्धी सबैखाले समस्या सामाधान गर्न सरकारले शक्तिशाली भूमि आयोग गठन गर्ने बताए ।

सुकुम्वासी, ऐलानी, बाढीपीडित, गुठी, मुक्त हलिया, जनयुद्धको समयमा किनवेबेच गरिएको जग्गाहरुको स्वामित्व तथा हकभोग लगायतका समस्या सामाधानका लागि सरकारले आयोग गठनको तयारी गरेको उनको भनाइ छ ।

उनले गास, वास र कपास नागरिकको मौलिक हक भएको बताउँदै सरकारले सबै नागरिकलाई बस्ने बास र खाने गासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘कर्णाली प्रदेशका सबै नागरिकको आफ्नै सुरक्षित घर हुन्छ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले एकीकृत बस्ती विकासको कार्यक्रम ल्याउँदैछ, सबै नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सारेर सुरक्षित ठाउँमा बसोबासको व्यवस्था हुन्छ ।’

मुख्यमन्त्री शाहीले भूमिहीनको काम गर्दा कुनै पनि सरकारी कार्यालय वा कर्मचारीले ढीलासुस्ती, बेवास्ता र घुस मागेमा आफैले एक्सन लिने बताए ।

मुख्यमन्त्री शाहीलाई भूमिहीन नागरिकको समस्या सामाधानका लागि मञ्चले ९ बुँदे सुझाव पत्रसमेत बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =