विकास, समृद्धि र सुशासन कायम गर्न सरकार केन्द्रित हुन्छ: नेकपा अध्यक्ष दाहाल

काठमाडौं,जेठ २७ । (नेपाल कम्युनिष्ट पार्टी) नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताउनुभएको छ ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्न सरकार केन्द्रित हुने बताउनुभयो । कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्बाचनको बेला छलफल हुन सक्ने दाहालको भनाई छ ।

राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई सरकारमा सहभागी गराउने बारे एक चरण छलफल भएको र अब पून: छलफल हुने बताउँदै दाहालले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको विषयमा छलफल भएपनि तत्काल सम्भव नभएको उल्लेख गर्नुभयो ।

प्रदेश २ मा तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लाग्नु पहिलो प्राथमिकता भएको बताउँदै पूर्व प्रधानमन्त्री दाहालले संघीय समाजवादी र राजपाको गठबन्ध टुटेपछि मात्र प्रदेश २ मा बामपन्थी सरकार गठन हुने उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘संघीयताको पहिलो अभ्यास भइरहेकोले केही जटिलता र अप्ठयारोहरु अस्वभाविक होइन ।

कतिपय बिगतका बहुवर्षीय योजनाहरुको ठेक्का पहिले नै भइसकेको अबस्थामा संघ, प्रदेश र स्थानीय तह कसले के हेर्ने विषयहरु बिस्तारै ऐन बन्दै गएपछि सबै स्पष्ट हुन्छ ।’ संघीयताको विषयमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको बुझाइमा एकरुपता ल्याउनु पर्ने अबस्था रहेको दाहालको भनाई छ ।  सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने उहाँले बताउनुभयो ।

दाहालले भन्नुभयो, ‘आयोगको काम जुन गतिका साथ अघि बढनु पर्ने थियो त्यसमा ढिलाई भएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोगलाई शान्ति प्रकृयासँग सम्बन्धित सबै काम पूरा गर्न सरकारले समय थप गर्छ ।’ निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्नु पर्ने क्षेत्रमा कायम एकाधिकार तोड्न गृहमन्त्रीलाई आग्रह गरेको दाहालले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *