प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक ,यसै आर्थिक वर्षमा ५० मेगावाट विजुली

जनकपुरधाम, जेठ, २४। दुई नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रका रुपमा विकास गरिने जनाएको छ ।

विहिबार प्रस्तुत प्रदेशको नीति तथा कार्यक्रममा प्रदेश सरकारले यसै आर्थिक वर्षभित्र ५० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको उल्लेख छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी वर्षहरुमा विद्युत उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिने बताए ।

‘प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस बर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी बर्षहरुमा यस्को उत्पादन बृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘सिञ्चाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ ।’

त्यस्तै जनकपुर चुरोट कारखाना लिमिटेड क्षेत्रभित्र रहेको प्रादेशिक कार्यालय र निवासमा सौर्य उर्जा जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले कृषिमा पनि विशेष कार्यक्रम घोषणा गरेको छ । प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति लिने उल्लेख गरेको छ ।

प्रदेश २ लाई अन्न भण्डार, तरकारी भण्डार, औद्योगिक बाली, दुध उत्पादन र माछा उत्पादन हुने विशेष प्रदेशको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सामुहिक गाईपालन तथा भैंसीपालनका लागि प्रोत्साहन गर्न न्यून ब्याजदरमा ऋण दिने पनि उल्लेख गरिएको छ ।

त्यस्तै ३ वर्षभित्र प्रदेशलाई खुला दिसामुक्त बनाउने, एक घर एक शौचालय कार्यक्रम सञ्चालन गर्ने, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई हृदयरोग उपचार केन्द्रको रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

प्रदेशलाई हराभरा र स्वच्छ बनाउन मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *