मकालु खबरको एक वर्ष चुनौती सँगै अवसर पनि

सूचना तथ्यपरक हुनुपर्छ, यथार्थपरक हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, अनि देश र जनताको सर्वोत्तम हितका लागि हुनुपर्छ, यिनै विषयलार्ई आधार बनाएर इन्टरनेटको दुनियाँमा आएको एउटा फरक सञ्चार माध्यम हो ‘मकालु खबर डटकम’

‘मकालु खबर, ताजा, सुलभ र निश्पक्ष’ भन्ने मूल नाराका साथ युवा सञ्चारकर्मीहरूको सामूहिक प्रयासमा स्थापना भएको हो । डिजिटल सञ्चारमाध्यमबाट आम जनतालाई निश्पक्ष, सत्यतथ्य सूचना र घटना क्षणभरमै विश्वभर पुर्याउने उद्देश्य बोकेको मकालु खबरले स्थापनाको पहिलो वर्ष पुरा गर्दा सञ्चारको क्षेत्रमा पृथक् भूमिका निर्वाह गर्न प्रतिबद्ध छ ।

मकालु खबर हामीले कुनै लहड, देखासिकी र मन बहलाउन स्थापना गरेका थिएनौँ । अनलाइन पत्रकारिताले दुई दशक पार गर्दै गर्दा सुरु भएको हाम्रो यात्राले व्यावसायिक पत्रकारिताकोे मूल्य र मान्यतालाई अगिंकार गर्दै आइरहेको छ ।

पत्रकारिता आफैँमा चुनौतीपूर्ण व्यवसाय हो । पत्रकारिताले एउटा व्यक्ति र परिवारको चाहना भन्दापनि समाज राष्ट्रकै प्रतिनिधित्व गर्ने भएकोले यसले दिने सोच, विचार तथा भावना समाज र राष्ट्रको सर्वोत्तम हितका लागि हुन आवश्यक छ ।

हामीले पत्रकारितामा पाइला चालिरहँदा एक वर्षको अवधिमा हामी कत्तिको व्यावसायिक र निष्पक्ष भयौँ त्यसको समीक्षा गर्ने जिम्मा यहाँहरूलाई दिन चाहन्छौँ । तथापि, यो गरिमामय समारोहमा मकालु खबरको एक वर्षका यात्रालाई स्मरण गर्दै न्यायको तराजुमा तौलिँदा हामीले गएको एक वर्ष स्वतन्त्र, निष्पक्षरुपमा आफूलाई उभ्याउन सफल भएको पाएका छौँ ।

पत्रकारिताको धर्मलाई अवमुल्यन गरिरहँदा हामीले केही सामाजिक उत्तरदायित्व समेत वहन गर्ने क्षमता राख्न सफल भयौँ । मकालु खबर सुरु गरेको एक महिना नपुग्दै तराई मधेसमा बाढीले वितण्डा मच्चायो । लाखौँ नेपाली घरबार विहीन भए, सयौँ नेपालीले ज्यान गुमाए । यो कारुणिक दृश्य टुलुटुलु हेरेर बस्न सकेनौँ ।

‘पहाडमा जाडो बढे तराईले सेक्नु पर्छ, आधी आए तराईमा पहाडले छेक्नुपर्छ’ गीतको भावार्थ जस्तै तराईका दाजुभाइ दिदीबहिनीहरूलाई एकसरो भए पनि न्यानो लुगा र एक छाक भए पनि नुनतेल दिनुपर्छ भनेर राहत सङ्कलन गर्यौं, अनि सप्तरीका कोईलाडी र तिलाठीका सयौँ घरबारविहिन नेपालीलाई राहत वितरण गर्न सफल भयौँ ।

हामीले पत्रकारिता गरिरहँदा राष्ट्र राष्ट्रियताका विषयमा पनि कलम चलाएका छौँ । सीमा क्षेत्रको नेपाली भूमि मिचिइरहँदा हाम्रा कलम चलेका छन्, सीमामा नेपाली लुटिइरहँदा होस् वा नेपाली दाजुभाइ कुटिइरहँदा हामीले तीनका आवाज पनि बुलन्द गरेका छौँ ।

प्रवासी नेपाली दाजुभाइले विदेशमा भोग्नुपरेका दुःख कष्ट मात्र हैन, आफ्नै पसिना र मेहनतले सफलता हासिल गरेका युवाका कथा पनि पस्कन सफल भएका छौँ । स्वदेशमा आत्मनिर्भर हुन चाहने युवाका कथालाई समेटेका छौँ ।

यतिमात्र हैन पदीय दुरुपयोग गरी सरकारी सम्पत्ति माथि बक्रदृष्टि लगाउने सरकारी कर्मचारी हुन वा कुनै राजनीतिक नियुक्ति लिएर संस्थान, प्रतिष्ठानमा कार्यरत हाकिमले गरेका भ्रष्टाचारमा कलम चलाइरहेका छौँ । दूर दराजमा सिटामोल समेत नपाएर मृत्युको मुखमा बाँच्न विवश नेपाली जनताका हकअधिकारलाई बुलन्द गर्ने प्रयास गरेका छौँ ।

सामाजिक, सांस्कृतिक, आर्थिक तथा लैङिगक रूपमा पछाडि परेका समुदाय, क्षेत्र र वर्गको उत्थानको लागि हाम्रो यात्रा सदैव रहिरहेको छ ।
आज यो प्रथम वार्षिकोत्सव समारोह मनाइरहँदा हामीले यसरी आफूले गरेको पत्रकारिताको आफैँले बखान गरिरहँदा वर्षौँदेखि पत्रकारिता गरिरहनु भएका, वर्षौँदेखि सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा योगदान पुर्याउनु भएका आदरणीय उपस्थित महानुभावमा अन्याय हुन जान्छ । उहाँहरूले गर्नुभएको त्याग, समर्पण र राष्ट्रप्रतिको योगदानको अगाडी हामी भर्खर बामे सर्दैछौं ।

भनिन्छ ‘हिँड्ने मान्छे लड्छ’ र नहिँडि त गन्तव्यमा पुग्नै सकिन्न नि !, हामी पनि पत्रकारितामा केही गरौँ भनेर अघि बढिरहेका छौँ । हाम्रा सामु अनगिन्ती चुनौती छन्, नेपाली पत्रकारिताले व्यावसायिक रूप धारण गर्न सकिरहेको छैन, अनलाइन पत्रकारितामा देखिएका विकिृति विसंगतिका कारण अनलाइन पत्रकारिता पाठकसामु विस्वस्नीय बन्न सकिरहेको छैन । तथापि, हामीले यी चुनौतीलाई अवसरका रूपमा लिएका छौँ ।

हामीले मकालु खबरको नामाकरण गर्ने बेलैमा आइपर्ने जस्तोसुकै चुनौतीलाई सामना गर्ने दृढता लिएका थियौँ । र, आगामी दिनमा त्यो दृढता रहिरहनेछ ।

यो कठिन र चुनौतीपूर्ण यात्रामा हामीलाई साथ र सहयोग गर्नुहुने सम्पूर्ण विज्ञापनदाता, पाठक तथा शुभचिन्तक महानुभावमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौँ । र, आगामी दिनमा पनि यस्तै उत्साहजनक साथ र सहयोग अनि सुझावको अपेक्षा गर्दछौँ ।

धन्यवाद !

प्रकाशक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *