कांग्रेस नेता भन्छन् : मुलुकको मुहार फेर्ने बजेट खोई ?

“
काठमाडौं, जेठ १४ । नेपाली कांग्रेसको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार कांग्रेसका पदाधिकारी र सांसदहरूको आकस्मिक बैठक बस्यो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेताहरुले मुलुकको मुहार फेर्ने गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । नेताहरुले सरकारलाई दीर्घकालीन महत्वका कार्यक्रमलाई ध्यानमा राखेर आगामी नयाँ बजेट ल्याउन समेत सुझाएका छन् ।
कांग्रेसले आफ्नो पालामा सुरु गरिएको कार्यक्रमहरूलाई कटौती नगर्न पनि सरकारसँग आग्रह गरेको छ ।
कांग्रेसका एकजना सांसदले भने, ‘कांग्रेसले आफ्नो सरकारका पालामा सुरु गरेका राम्रा कार्यक्रमलाई वर्तमान सरकारले कटौती नगरोस् भन्ने चाहन्छ । यदि त्यस्तो भयो भने सरकारले संसदमा अफ्ठ्यारो अवस्था आउन सक्छ ।’ ती सांसदका अनुसार दुईतिहाई समर्थन प्राप्त वर्तमान सरकारलाई विपक्षी दलको पनि कुरा सुन्न आग्रह गरिएको छ ।
‘सरकारले विपक्षी दलको कुरा सुन्न चाहेको जस्तो देखिएको छैन’, कांग्रेसका ती सांसदले भने, ‘दुईतिहाई बहुमत छ भन्दैमा विपक्षीहरूको कुरा नमान्नु भनेको निरंकुशताको संकेत गर्छ ।’
सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याउनु एकदिन अगाडि नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको बजेटका बारेमा अनौपचारिक परामर्श गरेको छ ।
कांग्रेसले वर्तमान सरकारले राम्रो काम गरोस् भनेरै आइतबार संसदमा नीति तथा कार्यक्रममा तटस्थ बसेको जनाएको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, मुख्य सचेतक बालकृष्ण खाँड, सांसद डा.मीनेन्द्र रिजाल, मीन विश्वकर्मा, राधेश्याम अधिकारीसहितका दर्जन बढी नेताहरूको सहभागिता रहेको थियो ।
“








