माओवादी केन्द्रका नेता ढुंगेललाई रिहा गर्ने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट, आजै पेशी

काठमाडौँ, जेठ ११ । तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आम माफि दिने सरकारको तयारी विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका नेता ढुंगेललाई रिहा गर्न सरकारले तयारी गरेको भन्दै त्यस विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहिबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

ढुंगेललाई रिहा नगर्न भन्दै सरकारले ढुंगेल लगायत अन्य कैदीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर रिहा गर्ने सरकारको तयारीप्रति आपत्ति जनाउँदै सर्वोच्चमा रिट दायर भएको हो ।

गम्भीर अपराधमा संलग्न भएका भन्दै अदालतले पीडितका लागि खतरा भएको ठहर गरेका व्यक्तिलाई असल चालचलन भन्दै कैद मिनाह गर्न खोज्नु न्याय–विधिको शासन विपरीत भएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपति कार्यालय, कारागार व्यवस्था विभागलाई विपक्षी बनाईएको रिटमा उल्लेख गरिएको छ । रिटको पेशी भने आजका लागि तोकिएको छ ।

गत कात्तिक ७ गते सर्वोच्चले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आईजीपी प्रकाश अर्याललाई आदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ढुंगेललाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरी जेल चलान गरेको थियो । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको ढुंगेललाई अहिले डिल्लीबजार कारागारमा राखिएको छ ।

कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *