पश्चिम सेती आयोजना : थ्रि गर्जेजसँगको सम्झौता खारेज गर्न सिफारिस

“
काठमाडौं, जेठ १०। बहुचर्चित ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्रि गर्जेजसंग गरिएको सम्झौता खारेज गरिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा यो आयोजना सरकारले आफैले निर्माण अघि बढाउन उचित भएको निष्कर्ष निकाल्दै सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।
यो प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गरिनेछ । बोर्डले यो प्रतिबेदन पास गरेसँगै थ्रि गर्जेजसँगको सम्झौता खारेज हुनेछ ।
लगानी बोर्डका एक अधिकारीकाअनुसार यसको पुनः अध्ययन गरेर निर्माण अघि बढाउने निश्कर्ष निकालिएको छ । आयोजनाको क्षमता र लगानीका विषयमा पुनः अध्ययन हुनेछ ।
आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ सरकारी कम्पनी थ्रि गर्जेज नेपालको बिजुली खरिद दर चित्तबुझ्दो नभएको बताउँदै लामो समय होल्ड गरेर राखेपछि यसको बारेमा टुंगो लगाउन समिति गठन भएको थियो ।
साथै थ्रि गर्जेजले आयोजनाका लागि चिनमा गरेको खर्च समेत पुँजीकरण गर्न माग गरेको थियो ।
तर, यसमा पनि राष्ट्र बैंकले स्वीकृति नदिएको भन्दै थ्रि गर्जेजले असन्तुष्टी जनाएको थियो ।
साउन ०७१ बाट निर्माण शुरु गरेर ०७६ को पुस दोस्रो सातामा सम्पन्न गर्ने लक्ष्य राखी ऊर्जा मन्त्रालय र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच १७ फागुन ०६८मा समझदारी भएको थियो ।
तर, अहिलेसम्म आयोजनाको भौतिक कुनै प्रगति नै भएको छैन ।
यसअघि २१ वर्षअघि अस्ट्रेलियाको स्मेक कम्पनीले पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो ।
१० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो ।
“








