महिलाहरुले चलाएको सहकारी देशकै उत्कृष्ट
“
किशोर खनाल
चितवन, ३ साउन । रत्ननगर–१६ पिठुवामा रहेको महिलाद्वारा सञ्चालित एक सहकारी देशभरमै उत्कृष्ट बनेको छ । सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्था देशभरमै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको हो ।
‘परिश्रमको फल मीठो हुँदो रहेछ । धेरै परिश्रम गरेर सहकारीलाई यहाँसम्म ल्याउँदा जुन सम्मान मिलेको छ, यो सम्मान समग्र पिठुवा रत्ननगरको मात्र नभई चितवन जिल्लाकै सम्मान हो’ सहकारीकी अध्यक्ष रिता काप्री अधिकारीले भनिन्, ‘मिहिनेत गरे यो दिन आउँछ भन्ने हामी सहकारीका पूरा परिवारलाई लागेको थियो ।’
नेपालमा २९ हजारभन्दा बढी संख्यामा रहेका सहकारीलाई पछाडि पार्दै सिर्जनशील महिला बचत तथा ऋण सहकारी संस्था नेपाल सरकार महिला तथा बालबालिका विभाग पुल्चोकबाट सम्मानित भएको हो । उक्त सहकारीले नगर एक लाख रुपैयाँसहित प्रशंसापत्र पाएको छ ।
सहरी क्षेत्रको मात्र नभई ग्रामीण क्षेत्रमा रहेका महिलाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय भूमिका खेलेबापत् सिर्जनशील महिला सहकारी सम्मानित भएको हो । ३५ जना शेयर सदस्यबाट २०५९ सालमा स्थापना भएको उक्त सहकारी प्रारम्भिक चरणमा मासिक २५ रुपैयाँ संकलन गर्दै अघि लम्केको हो ।
सरकारले तीनखम्बे आर्थिक नीतिमा समावेश गरेसँगै सिर्जनशील महिला सहकारीले विभिन्न किसिमका उत्पादनशील क्षमताको विकास, आयआर्जनमा वृद्धि, नेतृत्व विकास तथा सचेतनाको कार्यक्रमहरु गर्दै आएको हुनाले सम्मान मिलेको अध्यक्ष काप्रीले बताइन् ।
सिर्जनशील महिला बचत जिल्लास्तरमा धेरैपटक सम्मान भइसकेको छ । यसअघि महिला तथा बालबालिका कार्यालय र जिल्ला सहकारी डिभिजन कार्यालयले सम्मान गरिसकेको छ । यस सहकारीमा हाल एक हजार ६५ जना शेयर सदस्य पुगेका छन् ।
‘हाम्रो सहकारीको कारोबार अहिले तीन करोडको छ’ अध्यक्ष काप्रीले भनिन्, ‘शेयर सदस्यहरुलाई बिनाधितो २ लाखसम्म ऋण दिन सकेका छौँ ।’ हाल यो सहकारीले राहत कोष, जगेडा कोष, कर्मचारी बोनस कोष, जोखिम कोष खडा गरेको छ ।
सिर्जनशील महिला सहकारी सामाजिक काममा पनि निरञ्न्तर लागिरहेको छ । यो सहकारीले २०६२ सालमा चितवनमै पहिलो पटक ८५ जना एकल महिलाहरुलाई रातो दोसल्ला ओढाएर सम्मान गरेको थियो । ‘यो सुनौलो कार्यपछि हाम्रो सहकारी निरञ्न्तर सामाजिक र महिलाहरुको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ’ सहकारीकी अध्यक्ष रिता काप्री अधिकारीले भनिन् ।
दुई छोरी जन्माएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीदेखि मिलेर बसेका सासूबुहारीलाई यो सम्मान गर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा पनि सिर्जनशील सहकारीले काम गरेको पाइन्छ । बेलाबेलामा पाठेघरको मुखको परीक्षण, दाँतको शिविर, संगीनी सुईबारे चेतना दिलाउने काम पनि यस सहकारीले काम गरेको छ ।
यो सहकारीको कार्यक्षेत्र रत्ननगर नगरपालिका १४, १५ र १६ हो । साविक पिठुवा गाविसका ९ वटा वडा यसको कार्यक्षेत्र भएको छ । आफ्नो कार्यक्षेत्रमा यस सहकारीले लैंङ्गिक हिंसा निगरानी समूह गठन गरेको छ । महिला तथा बालबालिकामाथि हुने जुनसुकै खालका हिंसाजन्य घटना न्यूनीकरण गर्न निगरानी समूहको उपस्थिति हुन्छ ।
महिला तथा बालबालिका कार्यालयअन्तर्गत रहेर महिलाहरुले चलाएको सहकारी चितवनमा २६ वटा छन् ।
“