भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा हो भन्दै कड्किए राज्यमन्त्री बास्कोटा

“
काभ्रे, जेठ १ । सञ्चार तथा सुचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले कांग्रेस नेता गगन थापालाई जवाफ दिँदै ओली सरकारको घुँडामा नभई कांग्रेसीहरुको वुद्धिको भाडोमा भ्वाङ परेको बताएका छन् ।
राज्यमन्त्री बास्कोटाले सरकारले घुँडा टेक्छ भनेर कांग्रेसीहरुले प्रचार गर्नु गलत भएको बताएका छन् ।
सोमबार संसद बैठकमा बोल्दै थापाले हिजो भारतीय राष्ट्रपतिलाई स्वागत गर्दा घुँडा टेक्यो, घाउ लाग्यो भन्ने ओली सरकारको घुँडामा भ्वाङ पर्यो कि परेन भनि प्रश्न गरेका थिए ।
मंगलबार काभ्रेमा आयोजित कार्यक्रममा एमाले सांसद समेत रहेका सञ्चार राज्यमन्त्री बास्कोटाले भने, ‘७२ साल सम्झनुस् भ्वाङ घुँडामा हो कि वुद्धिको भाँडामा ? ’
केपी ओली सरकारले नाकाबन्दीलाई नाकाबन्दी भनेको भन्दै उनले ‘कांग्रेसका केही काजीहरुले नाकाबन्दीबारे केही बोल्न सक्नुभयो र ?’ भन्ने प्रश्न समेत गरे ।
मोदीको स्वागतमा तामझाम गरेको भन्दै भइरहेको आलोचनाप्रति इंगित गर्दै उनले भने, ‘पाहुनालाई स्वागत र सकेकोे सम्मान गरिहाल्छौं । हामीले के ढुङ्गाले हान्नु पर्ने थियो र ?’
राज्यमन्त्री बास्कोटाले पार्टी एकता भएरै छाड्ने बताएका छन् ।
“








