वीपी प्रतिष्ठानको स्वास्थ्य सेवा खस्किएको भन्दै कर्मचारी रुष्ट


साउन १, धरान । विगत केही महिना यता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा खस्कँदो छ । प्रतिष्ठानका उपकूलपति, रजिष्ट्रार, अस्पतालनिर्देशक कसरी हुन्छ कमाउ धन्धामा लागेपछि प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित भएको छ ।
दिनप्रतिदिन सेवा र गुणस्तर खस्कँदै गएपछि प्रतिष्ठानकै कर्मचारीसमेत पदाधिकारीको कार्यशैली प्रति रुष्ट भएका छन् । गत असार २९ गते प्रतिष्ठानको कर्मचारी कल्याण तदर्थ समितिका पदाधिकारीले उपकूलपतिलाई ध्यानाकर्षण पत्र बुझाउँदै अविलम्ब सेवा वृद्धि गर्न आग्रह गरेका छन् । कर्मचारीहरुले सेवा सुविधा नपाएको भन्दै प्रतिष्ठानका उपकूलपतिलाई ध्यानाकर्षण गराएका छन् । कर्मचारी कल्याण तदर्थ समितिको अगुवाईमा कर्मचारीहरुले प्रतिष्ठानको उपचार सेवा समेत खस्कँदै गएको र प्रतिष्ठानमा तत्काल सिटी स्क्यान, एमआरआई जस्ता सेवा सुचारु गर्न माग गरेका हुन् ।


कर्मचारीहरुले विगत लामो समयदेखि नबढेको तलब समायोजन गरी वृद्धि गरिनुपर्ने, दैनिक ज्यालादारी कर्मचारीलाई नियमानुसार करार थप गर्नुपर्ने, भ्रष्टाचार र अनियमितताको अन्त्य गरिनुपर्ने बताएका छन् । यसै गरी स्वास्थ्य सेवालाई प्रभावकार बनाउन सिटी स्क्यान, एमआरआई ल्यावलाई व्यवस्थित गरी आइसीयू, इएमजी, डायलाइसिस जस्ता अति आवश्यक सेवा विस्तार गर्न भनिएको छ ।
यसै गरी कर्मचारी कल्याण समाजको निर्वाचन गराउनु पर्ने, फायल बढुवा तथा आन्तरिक स्थानान्तरण गरिनुपर्ने समेत भनिएको तदर्थ समितिका अध्यक्ष राजन प्रसाद कोइरालाले बताए ।
प्रतिष्ठानका एक कर्मचारीले पदाधिकारी भ्रष्टाचारमा लिप्त भएको भन्दै कर्मचारीलाई दिने न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित गरेको बताए । ‘उनीहरू महलमा बस्छन्, हामी साना कर्मचारीको कुनै कुरा सुन्दैनन् ।’ उनले भने । उनले ध्यानाकर्षण बुझाउँदा पनि आफ्ना मागहरू पुरा नगरे आन्दोलनमा जाने चेतावनी दिए । यता प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारले आफू भर्खरै आएको र प्रतिष्ठान सुधार्न लागि परेको भन्दै कर्मचारीलाई धैर्य गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *