आठ सय ४२ ठाउँमा अनुगमन,१२४ वटा नमुना सङ्कलन

चितवन, ३० असार । जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षमा ८४२ वटा पसल तथा उद्योगको अनुगमन गरेको छ । कार्यालयले आज आयोजना गरेको उपभोक्ता सचेतना जागरण कार्यक्रममा सार्वजनिक गरेको तथ्याङ्कअनुसार अनुगमनका क्रममा १२४ वटा नमुना सङ्कलन गरी क्षेत्रीय गुणनियन्त्रण कार्यालय पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमप्रसाद शर्माका अनुसार पठाइएका मध्ये २५ वटाको नमुना जाँच प्राप्त भइसकेको छ । बाह्र वटाको मुद्दा दर्ता भइसकेको छ भने १३ वटाको निर्णयका लागि सरकारी वकिल कार्यालय पठाइएको छ ।

आव २०७३÷७४ मा सबैभन्दा बढी कात्तिकमा १४० वटा पसल तथा उद्योगको अनुगमन गरिएको थियो । सबैभन्दा धेरै पटक किराना पसलमा अनुगमन गरिएको थियो । फेन्सी, मेडिकल, कन्सल्टेन्सी, डेरी, तरकारी, फलफूल, माछामासु, होटल, एग्रोभेट, मिठाइ पसल, रेस्टुरेन्ट, पाउरोटी उद्योग, पेट्रोलपम्पलगायत क्षेत्रमा अनुगमन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अनुगमनलाई प्रभावकारी बनाउँदै यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताए । बजारमा मूल्य समायोजनलगायत काम प्रभावकारी बनाउनका लागि व्यवसायीलाई उनले निर्देशन दिए ।

अनुगमन बढाएसँगै दर्ता गरेर मात्र व्यापार सञ्चालन गर्नुपर्छ भन्ने भावनाको विकास भएको, मूल्य सूची टाँस्ने काम गरिएको, गुणस्तरमा सुधार आएको, म्याद नाघेका वस्तु विस्तारै हराउँदै गएको र अधिकांश स्थानीय उत्पादनमा लेबल लाउने काम गरिएको प्रजिअ भट्टले बताए। गत आवमा ६०८ ठाउँमा अनुगमन गरिएको थियो भने ४२ वटा मुद्दा समेत दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *