नोबेलको स्वास्थ्य शिविरबाट एक महिनामै १० हजार विरामीको निःशुल्क उपचार

विराटनगर, १४ चैत । विगत एक महिनाको अवधिमा विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य शिविर मार्फत करिव १० हजार विरामीको निःशुल्क उपचार गरेको छ । मोरङका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विरामीको निःशुल्क उपचार गरिएको हो ।

मोरङको बयरबन, सुन्दरहरैचा, बेलवारी, उर्लावारी, इटहरा, मृगौलिया, लेटाङ लगायत ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नोबेल अस्पतालले जनाएको छ । अन्य शिविरको तुलनामा मृगौलिया, लेटाङ, इटहरा र उर्लावारीमा सञ्चालित शिविरमा बढी मात्रामा बिरामीले उपचार सेवा लिएका छन् । वेलवारी नगरपालिकाका बिभिन्न वडामा एक महिनाको अवधिमा चार पटक निःशुल्क शिविर सञ्चालन गरिएको छ ।

शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसुति, बाल, मानसिक, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, आँखा, दन्त लगायत रोगको बिषेशज्ञ डाक्टरबाट निःशुल्क उपचार गर्ने गरिएको छ । ईसीजी, ल्याव टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिदै आएको छ ।

नोबेलले स्थानीय संघ सस्थासँग समन्वय गरी १ नम्बर प्रदेशका विभिन्न जिल्लामा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका मार्केटिङ अफिसर संजय मण्डलले जानकारी दिए । उनका अनुसार मोरङ, सुनसरी, धनकुटा, झापा, ईलाम लगायत जिल्लाका गाउँ–गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी विरामीको निःशुल्क उपचार गर्ने गरिएको छ ।

विपन्न एवं उपचारको सहज पहुँच भन्दा बाहिर रहेका विरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताएका छन् । नोबेलमा कार्यरत बिभिन्न रोगका बिषेशज्ञ डाक्टरले शिविरमा गएर विरामीको उपचार गर्ने गरेका छन् । गाउँ–गाउँमा शिविर सञ्चालन हुँदा उपचारमा सहज भएको विरामीहरुको प्रतिक्रिया छ ।

विपन्न बर्गलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले अस्पतालमा आएका विपन्न विरामीलाई पनि अवस्था मुल्यांकन गरी लाखौं मुल्य बरावरको निःशुल्क उपचार गर्ने गरिएको नोबेल अस्पतालका प्रवन्ध निर्देशक ईन्दिरा शर्मा (वराल) ले जानकारी दिईन् । उनका अनुसार नोबेल अस्पतालबाट बार्षिक १८ करोड मुल्य वरावरको निःशुल्क उपचार गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *