दाङका व्यापारी श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको पनि हत्या

दाङ, असार २८ । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै अपहरणमा परेका रणबहादुर घर्तीको बुधवार शव फेला परेको छ । सल्यान छत्रेश्वरी—४ झिम्पेको खर्सुगैरा जंगलमा घर्तीको शव फेला परेको अस्थायी प्रहरी चौकी पोखरीडाँडाले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सल्यानको निर्देशन अनुसार प्रहरी र केही स्थानीय त्यहाँ पुग्दा ढुंगाको बिच भागमा शव फेला परेको छ ।

राजकुमार श्रेष्ठको शव फेला परेको ठाउँदेखि झण्डै १५० मिटर तल रणबहादुरको शब फेला परेको अस्थायी प्रहरी चौकी पोखरीडाँडाका हवल्दार देव जंग शाहाले बताउनुभएको छ ।राजकुमार श्रेष्ठको हत्याको आरोपमा पक्राउ परेकाहरुले दिएको बयान अनुसार रणबहादुरको हत्या गरेर राजकुमारको शव भन्दा झण्डै दुईसय मिटर टाढा राखेको अधारमा जिल्ला प्रहरी कार्यालयले त्यहाँ प्रहरीलाई पठाएको थियो ।

यसअघि मंगलबार तुलसीपुरमा श्रेष्ठको अपहरण पछि हत्यामा संलग्न मुख्य योजनाकारहरु भनिएकाहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने क्रममा पक्राउ परेकाहरुले रण बहादुरको समेत हत्या भैसकेको बताएका थिए । गत जेठ २६ गते अपहरणमा परेका राजकुमार श्रेष्ठको २१ दिनपछि शव फेला परेको थियो । श्रेष्ठसँगै अपहरणमा परेका घर्तीको शव बुधबार फेला परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *