मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गाई र गजुरेल

मैले चौपायाको मासु खान छोडेको चारबर्ष र दोपाया छोडेको दुईबर्ष भएछ । ‘नो-पाया’ औंशी पुर्णिमामा चल्छ तर त्योपनि अरु बेला नो थ्याङ्स ! नो-पाया भनेको जसको पाउ हुन्न अर्थात् माछा, अण्डा आदि ! प्रसंगले गाई विवाद सँग मेल खान गएमा त्यो संयोगमात्र हुनेछैन । लामो समयदेखि योग-ध्यानमा लागेपनि धेरै समय लुक्दै खाँदै गरेको कुरो लुकाउन चाहान्न । दुई बर्षदेखि मांस पर्दाथलाई मेरो शरीरले ‘अटो रिजेक्ट’ गर्न थालेको कुरा सगर्व सुनाउन चाहान्छु ।

मलाई भेजोन्मुख बनाउने केही घटनाहरु छन् ।  सबैभन्दा पहिले किशोरावस्थालाई संझन्छु । उहिल्यैदेखी आमा एउटा श्लोक सुनाउनु हुन्थ्यो, ‘खसीको बिलौना ।’  त्यसमा एउटा खसीले काटिनु अघि मान्छेलाई दिएको शन्देश थियो –
‘सुन सुन मनुस्य हो म केही भन्छु,
पशुमाथी दया गर्ने सवाई कहन्छु,
हामीलाई खान्छौ मनुस्य हो, तिमीलाई खान्छ काल,
यस्तो ज्ञानी चोला पाई त्यसै खेर नफाल ।’

एक पटक खसी काटेको राती सपनामा खसीले नराम्रोसंग तर्सायो । त्यसपछि मासु खाएपनि आफ्नो हातले कहिल्यै बध गरिंन । सायद, उप्रान्त गर्ने पनि छैन ।

दशबर्ष अघि चाबहिलको एउटा रेष्टुरेन्टमा खप्परे भान्जा र म माछा खान गएका थियौं । ब्यस्त रहने त्यो रेष्टुरेन्टमा बल्ल बल्ल एउटा टेबल खाली भयो । खाएर उठ्ने फर्किने बेलामा बिलको साथमा अर्डर नै नगरेको एक प्लेट माछा आयो । कुनै अज्ञात ग्राहकले पठाएको रहेछ । माछासंगै एउटा ‘नेपकिन’मा लेखिएको थियो, ‘मनोजजी, तपाईंकालागि सुनकोशीका माछाका लासहरु उपहार पठाएको छु, कृपया सद्गती गर्नुहोला ।’  बुझ्दै जाँदा त्यो उपहार पठाउने पत्रकार मित्र प्रेम बाँनिया रहेछन् । तर उनको ‘माछाका लास’को त्यो ठट्टाले मलाई माछा खाने बेलामा जहिल्यै तसाई रह्यो ।

भुकम्पको बेला मेलम्ची जाँदै थियौं, समता शिक्षा अभियन्ता उत्तम सञ्जेल, पत्रकार गुणराज लुईंटेल र म । पाँचखालको जिरो किलोमा खाँना खान पस्यौं । भातको गाँस मुखमा हाल्न लाग्दा उत्तम सञ्जेलले सोधे, ‘खानासँग के को ज्यान राखौं मनोजजी ?’ त्यो ‘ज्यान’ शब्दले पनि शाकाहारतर्फ ‘मोटिभेट’ गऱ्यो ।

अहिले गाई काट्न पाउने कि नपाउने भन्ने बिषयमा ठूलो बिबाद चलि रहेको छ । ‘भेज’ वा ‘ननभेज’ के बन्ने भन्ने आ-आफ्नो स्वतन्त्रताको कुरा हो । तर मेरो ब्यक्तिगत धारणा सोध्नु हुन्छ भने गाईमात्र हैन, राँगा, गोरु, खसि, कुखुरा, सुँगुर, ढुकुर, परेवा केहीपनि काट्नु हुन्न । काटमार हिंसा हो । कुरा काट्नोस् कि बाटो काट्नोस् वा जनवार काट्नोस्- त्यो सबै हिंसा हो ।

तर मेरो यो ब्यक्तिगत बिचारसंग असहमती राख्ने तपाईंको अधिकार सुरक्षति छ, धन्यवाद ।

(गजुरीयल डटकम बाट)

प्रतिकृयाहरु
Loading...