आगलागीबाट रु तीन लाख बराबरको क्षति

राजविराज, चैत ११ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित गोविन्दपुरमा गएराति आगलागी हुँदा रु तीन लाख बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय रमानन्द झाको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा गाई गोठ (गोहाली) जलेर नष्ट भएको छिन्नमस्ता इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी रु तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगोलाई प्रहरी, स्थानीयवासी र राजविराज नगरपालिकाबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकल चोरीको अभियोगमा चार पक्राउ

पछिला केही दिनयता सप्तरी सदरमुकाम राजविराजसहित जिल्लामा भइरहेको मोटरसाइकल चोरीमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय छिन्नमस्ता गाउँपालिका–१ बस्ने सञ्जय यादव, डाक्नेश्वरी नगरपालिका–४ बस्ने सञ्जयकुमार यादव, राजविराज नगरपालिका–७ बस्ने प्रदीपकुमार राम र राजेशकुमार राम रहेको प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

चोरीका मोटरसाइकल प्रयोगमा ल्याइरहेको भनी सूचनाका आधारमा अनुसन्धान गर्दा पाँचवटा इन्जिन, चेचिस र मोटरसाइकल चोरी गरी नम्बर र प्लेट परिवर्तन गरिएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

पक्राउ परेका चारैजनालाई कानूनी कारवाही अगाडि बढाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी  दिए ।

अग्पग्नि पीडितलाई राहत

सप्तरीको दुई स्थानका अग्निपीडित परिवारलाई धर्मिहल्फा महिला विकास क्लबले राहत उपलब्ध गराएका छन् ।

जिल्लाको तिरहुत गाउँपालिका–५ का अग्निपीडित परिवार कैलु ठाकुरकी श्रीमतीलाई एक थान कम्बल, झुल, साडी, धोती, तन्ना, थाल, ग्लास, कन्ती, डेक्ची र पन्यूँ वितरण गरिएको क्लबका अध्यक्ष ई सूर्यनारायण यादवले जानकारी दिए ।

चैत १ गते ठाकुरको घरमा आगलागी हुँदा झण्डै रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

यस्तै छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका अग्निपीडित रामप्रित यादवका परिवारलाई समेत सोही संस्थाले राहत उपलब्ध गराएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *