आज विश्व क्षयरोग दिवस, चितवनमा क्षयरोगीको संख्यामा कमी

भरतपुर, चैत १० । हरेक वर्षको मार्च २४ मा पर्ने विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । चितवनमा पनि साताव्यापी कार्यक्रमको आयोजना गरी विश्व क्षयरोग दिवस मनाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिका, नेपाल क्षयरोग निवारण संस्था, विराट नेपाल मेडिकल ट्रष्ट र एएचएफ नेपालले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी विविध जनचेतनामूलक कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको जानकारी दिएको छ ।

‘१३६ औं विश्व क्षयरोग दिवसको अवसरमा क्षयरोगसम्बन्धी चैत ९ देखि १६ गतेसम्म साताव्यापी कार्यक्रमको आयोजना गरेका छौँ’ जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले भने, ‘जनचेतनामूलक कार्यक्रम नै गरेर विश्व क्षयरोग दिवस मनाइनेछ ।’ उनले सात दिनै क्षयरोगसम्बन्धी भरतपुर महानगरलगायत विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गरिने बताए ।

‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका साथ क्षयरोग विरुद्ध जनचेतना जगाउन विभिन्न चेतनामूलक कार्यक्रम गरिने दुवाडीले बताए । क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सरजस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ ।

क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसिना आउने, थकाइ लाग्ने, तौल कम हुँदै जानेजस्ता लक्षण देखिन्छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमित ८ महिनासम्म औषधी सेवन गरे यसबाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार चितवनमा क्षयरोगीको संख्या घड्दै गएको छ । चितवनमा ०७१÷०७२ मा एक हजार ३८ जनामा क्षयरोग देखिएको थियो भने ०७२÷७३ मा एक हजार २४ मा क्षयरोग देखिएको थियो । ०७३÷०७४ मा ९८१ जनामा क्षयरोग ंसंक्रमण थियो ।
‘तथ्यांकमा त क्षयरोगको संख्या त घटेको देखिन्छ, तर लुकेर बसेका जसलाई क्षयरोग छ भन्ने नै थाहा नभएका संख्या पनि छ’ जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत जयराम दुवाडीले भने, ‘क्षयरोगी उपचार नगरी घरमै बसिरहेका पनि हुन सक्छन् । जसलाई क्षयरोग लागेको थाहा नहुन सक्छ । यस्तो संख्या समाजमा अवश्य छ ।’ चितवनको ७ स्थानीय तहमध्ये भरतपुर महानगरमा क्षयरोगीको संख्या धेरै छ । २०७३÷७४ मा भरतपुर महानगरमा ५६७ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । रत्ननगरमा ९६ जना क्षयरोग छन् । खैरहनीमा ७८, माडीमा ३८, राप्तीमा ९०, इच्छाकामनामा २५ जनामा क्षयरोग देखिएको छ ।

‘भरतपुर महानगरमा जनसंख्या धेरै छ, त्यसकारण पनि यहाँ क्षयरोगीको संख्या बढी देखिएको हो’ दुवाडीले भने, ‘तर राप्तीभन्दा खैरहनी नगरपालिकामा बस्ती बाक्लो छ । तैपनि खैरहनीमा भन्दा राप्तीमा बढी क्षयरोगी भेटिएको छ ।’ क्षयरोगको औषधि नियमत खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधीको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् । यसको औषधि घर लान पाइँदैन । प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा क्षयरोगको औषधि सेवन गर्नुपर्छ ।

नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममार्फत देशभरि क्षयरोगीका लागि प्रत्यक्ष निगरानीमा गरिने डट्स विधीबाट उपचार गरिएको छ । ४ हजार २ सय ५१ उपचार केन्द्रमा डट्स विधीबाट उपचार हुन्छ । त्यस्ता उपचार केन्द्रमा बिरामीलाई निःशुल्क औषधी चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाउने गरिन्छ । चितवनमा क्षयरोगीको उपचारको लागि समुदायमा आधारित डट्स कार्यक्रम पनि चलाइएको छ । यस कार्यक्रमको लागि स्वयमसेवी पनि खटाइएको छ । यस कार्यक्रममार्फत चितवनमा ९२ जना क्षयरोगीको उपचार भइरहेको छ ।

नेपाल सरकारले २०३५ साल सम्ममा देशबाट क्षयरोग निर्मुल गर्ने घोषणा गरेको छ । नेपालको जनसंख्याको आधामा क्षयरोगको जिवाणु छ । आधामध्ये १० प्रतिशत मानिसमा कुनै न कुनै बेला क्षयरोग देखिन्छ । नेपालमा प्रत्येक दिन दैनिक १२० जनामा नयाँ क्षयरोगी बिरामी भेटिएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा क्षयरोगीको संख्या झण्डै ३६ हजार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *