जव ४० मिनेटसम्म आकाशमा उड्यो चेपाङ युवाको हेलिकोप्टर

काठमाडौं, ४ चैत्र । देशकै पिछडिएको र लोपोन्मुख जातिको सूचिमा रहेको चेपाङ समुदायका एक युवा आफैले बनाएको हेलिकोप्टरमा आकाशमा उडान भर्न सफल भएका छन् । चितवनका २३ वर्षिय सरोज चेपाङले आइतवार विहान गरेको तेस्रो परिक्षणमा ४० मिनेटसम्म आकाशमा सफल उडान भर्दै सकुशल अवतरण गरेका छन् ।

प्रतिनिधिसभाका सांसद गोविन्द चेपाङको उपस्थितिमा चेपाङ समुदायका युवा बैज्ञानिक सरोजले आइतवार विहान ८ः०० बजे परिक्षण उडान गर्दै ४० मिनेटसम्म आकाशमा हेलिकोप्टर उडाउन सफल भएको एमालेका सांसद गोविन्द चेपाङले बताए ।

उनकै उपस्थितिमा हेलिकोप्टर उडाएको हो । सांसद गोविन्द चेपाङले भने, ‘सरोज भाइले शुक्रबार र शनिवारको दुई दिनको अथक मेहनतपछि आइतवारको परिक्षण सफल भएको छ । करिब ४० मिनेट हेलिकोप्टर आकाशमा उडेर सकुशल अवतरण गर्न सफल भयो ।’ राप्ती नदि तटस्थित बगरमा गरिएको परिक्षणमा सरोज चेपाङले करिब दुई हजार फिटमाथिसम्म हेलिकोप्टर उडाएको सांसद चेपाङले जानकारी दिए ।

 

भरतपुरस्थित विमानस्थलले भने आन्तरिक विमानस्थलमा राडार नभएकोले ट्रेस गरेर हेर्न मिल्ने अवस्था नरहेको जनाउँदै सम्पर्कमा आएका बाहेकको अवस्थाबारे जानकारी नहुने स्पष्ट पारेको छ ।

विगत दुई महिनादेखि हेलिकोप्टर बनाउन प्रयासरत चेपाङले हेलिकोप्टरको परिक्षण उडान भर्न लागेको खवर वरपर गाउँमा फैलिएको थियो ।आइतवार उनले हेलिकोप्टर उडाएको हेर्न करिब पाँच सय मानिस भेला भएका थिए । पेट्रोल जडित इन्जिन भएको हेलिकोप्टर ४० मिनेटसम्म आकाशमा फन्को मार्दै उडेपछि स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । हेलिकोप्टर उडाएर सकुशल तल ओर्लेपछि उनलाई फूल माला लगाएर स्वागत गरिएको छ भने फुलमालासहित शहर परिक्रमा गराउने काम भइरहेको सांसद चेपाङले बताए ।

एमालेको तर्फबाट समानुपातिक सांसद चेपाङले आइतवार हेलिकोप्टर उडाएको घटनापछि प्रतिक्रिया दिँदै भने, ‘चेपाङ समुदायको लागि मात्रै होइन, सिंगो नेपाली जनताको लागि खुशी र ऐतिहासिक अवसरको रुपमा मैले यस घटनालाई लिएको छु ।’

चितवन जिल्लाको पहाडी क्षेत्र लोथरको वाचवाङमा जन्मेका सरोज कक्षा १० सम्म अध्ययन गरेका युवा हुन् । केही समय पोखरामा बसेर मेकानिक काम गरेका उनी सोही ज्ञानको आधारमा हेलिकोप्टर बनाउने अभियानमा थिए । हेलिकोप्टरको परिक्षण उडान सफल भएपछि निकै उत्साहित उनी अब व्यवसायिक रुपमा निर्माण गरेर पहाड र तराईको सम्पर्कको सेतु बनाउने पर्ने धारणा व्यक्त गरेका छन् ।

दुई महिना खर्च गरेर कूल १० लाख लागतमा तयार गरेको हेलिकोप्टर निर्धक्क आकाशमा उडेपछि आफै तीन छक परेको सांसद गोविन्द चेपाङले बताए । हाल राप्ती नपा २ मा स्थायी बसोबास गर्दै आएका सरोज चेपाङले आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा हासिल गर्न नसकेका हुन् । बाल्यकालका जंगली कन्दमूल गिठ्ठा भ्याकुर खाएर हुर्केका सरोजले हेलिकोप्टर बनाएर आफ्नै आँखा अगाडि उडाएपछि लोथरबासी समेत खुशी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *