प्रधानमन्त्री मन्त्रिपरिषद् बिस्तारकाे तयारीमाः एमालेमा मन्त्री हुनेकाे चर्काे लविङ

चैत १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् बिस्तारको तयारी थालेका छन् । नेकपा माओवादी केन्द्रले मन्त्रीको नामावली टुङ्गो लगाएसँगै नेकपा एमालेमा पनि मन्त्रीमा दाबी गर्नेहरुको दौडधुप सुरु भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारका अन्तिम तयारी थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक दुई दिनभित्र सरकार विस्तार गर्ने बतार्इसकेका छन् । बुधवार वाम गठबन्धन प्रदेश १ का प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई बधाई दिने कार्यक्रममा बोल्दै एक–दुई दिनमै सरकार बिस्तार हुने प्रचण्डले उल्लेख गरेका थिए । सङ्घीय समाजवादी फोरम नेपालले सरकारमा आउने निर्णय गरेसँगै ओलीले सरकार विस्तारको तयारी थालेका हुन् ।

गत ३ फागुनमा प्रधानमन्त्री निर्वाचित भएका ओलीले दुईपटक गरेर सरकारमा ६ मन्त्री नियुक्त गरेका छन् । हाल उनीसहित ७ जनाको मन्त्रिपरिषद छ । सत्तारुढ वाम गठबन्धनले यसअघि केन्द्र सरकारमा १८ मन्त्रालय राख्ने निर्णय गरेको थियो ।

वाम गठबन्धनको सहमति अनुसार पनि सरकारको पूर्णताका लागि अझै ११ जना मन्त्री थप गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको निर्वाचन, वाम गठबन्धनभित्रको आन्तरिक सङ्घर्ष र मधेसवादी दललाई सरकारमा ल्याउन भइरहेको कसरतका कारण मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ भएको हो ।

हाल सात सदस्यीय रहेको मन्त्रिपरिषद्लाई विस्तार गरेर सरकारको कामलाई पूर्ण क्षमतामा अघि बढाउने उद्देश्य साथ ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेसँगै मन्त्रीका आकांक्षी पनि बढ्न थालेका छन् । प्रधानमन्त्री ओलीले सुरुमा मन्त्रिमण्डल बनाउँदा ‘सरप्राइज’ दिँदै लालबाबु पण्डित र थममाया थापालाई रोजेका थिए । त्यसपछि दोस्रो चरणमा डा. युवराज खतिवडा र ईश्वर पोख्रेल मन्त्री बने । उनीहरूसँगै माओवादी केन्द्रबाट रामबहादुर थापा र मातृका यादवले मन्त्री बन्ने अवसर पाए ।

प्रधानमन्त्री ओलीले सातै प्रदेश समेट्ने गरी एक–एक जनालाई एमालेबाट मन्त्री बनाउने तयारी थालेका छन् । ओली निकट स्रोतका अनुसार परम ओली सकेसम्म विवादमा नमुछिएका व्यक्तिलाई मन्त्री बनाउने पक्षमा छन् ।

प्रदेश–१ बाट ओली मन्त्रिपरिषद्का लागि एमाले सचिव तथा ताप्लेजुङबाट निर्वाचित योगेश भट्टराई, सांसद तथा पार्टी पोलिटब्युरो सदस्य, मोरङ–३ बाट निर्वाचित भानुभक्त ढकाल, पाँचथरका सांसद वसन्त नेम्बाङ, ओखलढुङाबाट निर्वाचित सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवार, धनकुटाबाट निर्वाचित राजेन्द्र राई लगायत चर्चामा छन् ।

सचिव भट्टराई एमालेभित्र अहिलेसम्म मन्त्री नबनेका एक जना मात्रै पदाधिकारी हुन् । उनी बाहेक सबै पदाधिकारीहरू पटक पटक मन्त्री बनिसकेका छन् । जनस्तरबाट उनी मन्त्री बनोस् भन्ने चाहना र दबाब भए पनि उनी आफै भने मन्त्री बन्नलाई मरिहत्ते गरेर लबिङमा लागेका छैनन् । ओलीको जगजगी चलिरहेको बेला ओलीले पार्टीभित्र गरिरहेका एकलौटी निर्णयको खुलेर आलोचना गर्ने नेता हुन् उनी ।

पछिल्लो समयमा एमालेभित्र प्रधानमन्त्री ओलीको बोली नै निर्णय हुने गरेको छ । एमालेभित्र एकदमै कम पदाधिकारी छन्, जो ओलीको निर्णयलाई आलोचना गर्ने सामर्थ्य राख्छन्, ती मध्येका एक हुन् सचिव भट्टराई । त्यही कारण उनलाई मन्त्री नबनाउने चर्चा गरिन्छ । पछिल्लो समयमा एमाले स्थायी कमिटी र पदाधिकारीहरू मन्त्री बन्ने चाहनाका कारण ‘चुप’ अवस्थामा छन् ।

पाँचथरबाट विजयी वसन्त नेम्बाङलाई मन्त्री बनाउन एमाले नेता तथा पूर्व सभामुख सुवास नेम्बाङले लबिङ गरिरहेका छन् । ओलीका सहयोगी सुवास नेम्बाङले वसन्तलाई मन्त्री बनाउनै पर्ने दबाब दिइरहेका छन् । तर, योगेश र भानुभक्तको तुलनामा वसन्तको प्रोफाइल सानो भएको तर्क पनि एमालेवृत्तमा छ ।

प्रदेश–२ बाट एमाले उपाध्यक्ष वामदेव गौतमका नजिकका रघुवीर महासेठ मन्त्री बन्ने सम्भावना छ । वामदेवले रघुवीर र प्रदेश–४ बाट रवीन्द्र अधिकारीलाई मन्त्री बनाउनुपर्ने लबिङमा छन् । गैर आवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष उपेन्द्र महतोका ज्वाइँ समेत रहेका रघुवीरलाई मन्त्री बनाउन अहिले चर्को लबिङ चलिरहेको छ ।

प्रदेश– ३ बाट मन्त्रीका लागि दोलखाका पार्वत गुरुङ र सिन्धुपाल्चोकका शेरबहादुर तामाङ लबिङमा छन् । अहिलेसम्म एमालेबाट तामाङ समुदायबाट मन्त्री नबनेका कारण प्रदेश नम्बर तीनबाट तामाङलाई मन्त्री बनाउन दबाब परेको छ । ओली मन्त्रिपरिषद्मा पर्नका लागि अहिले काठमाडौँका कृष्णगोपाल श्रेष्ठ र काभ्रेका गोकुल बास्कोटाले लबिङ गरिरहेका छन् ।

प्रदेश–३ बाटै काठमाडौँका रामवीर मानन्धरले पनि मन्त्रीका लागि पहल गरिरहेका छन् । तर, उनलाई कम्तीमा पनि राज्यमन्त्रीमा व्यवस्थापन गर्ने प्रयासमा पार्टी रहेको स्रोतले जानकारी दिएको छ ।

प्रदेश–४ बाट यसअघि संविधानसभाबाट रुपान्तरित संसद्मा विकास समितिका सभापति भइसकेका कास्कीका रवीन्द्र अधिकारी मन्त्रिमण्डलमा पर्ने सम्भावना बलियो छ । उनलाई र प्रदेश–२ का रघुवीरलाई मन्त्री बनाउन एमाले उपाध्यक्ष गौतमले नै लबिङ गरिरहेका छन् । तर, ओलीले दुवैलाई बनाउन नसकिने बताएको अवस्थामा वामदेवले रवीन्द्र र रघुवीरमध्ये एकलाई रोज्नुपर्ने अवस्था छ । यहाँबाट स्याङ्जाकी पद्मा अर्याल पनि मन्त्री बन्ने दौडमा छन् । गत निर्वाचनमा बहालवाला उपप्रधामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्याललाई सके मन्त्री नसकेमा कम्तीमा राज्यमन्त्रीसम्म बनाउने तयारी गरिएको छ ।

प्रदेश नं.५ बाट गुल्मीबाट निर्वाचित पार्टी सचिव तथा सचिवालय सचिव प्रदीप ज्ञवाली गुल्मीबाटै निर्वााचित पार्टी सचिव गोकर्ण विष्ट र रुपन्देहीका छबिलाल विश्वकर्माको मन्त्री बन्ने सूचीमा छन् । प्रधानमन्त्री कार्यालय मातहत बनाउने भनिएको एउटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी ओलीले ज्ञवालीलाई दिने सम्भावना छ । एमालेमा बौद्धिक नेताका रूपमा परिचित ज्ञवाली एमालेका दस्ताबेज लेखनका काममा ओलीका विश्वासपात्र पनि हुन् । ओलीको सबैजसो अप्ठ्यारोमा साथ दिएका ज्ञवालीले अर्थको जिम्मेवारी पाउने धेरैको अनुमान थियो । सङ्गठन र विचार दुवैमा ओलीलाई ज्ञवालीले दरिलो साथ दिँदै आएका छन् ।

कर्णाली प्रदेशबाट ओली मन्त्रिपरिषद्का लागि कुनै नेताको चर्चा छैन । यहाँबाट विजयी एक जनालाई राज्यमन्त्रीसम्मको जिम्मेवारी दिने चर्चा छ । यो प्रदेशमा दैलेख १ र २ बाट एमालेका रवीन्द्रराज शर्मा र राजबहादुर बुढाक्षेत्री विजयी भएका थिए । त्यसै गरी डोल्पाबाट धनबहादुर बुढा र मुगुबाट गोपालबहादुर बम प्रतिनिधि सभामा विजयी भएका थिए ।

प्रदेश–७ बाट डोटीका प्रेम आले, कैलालीका नारदमुनि राना र अछामका भीम रावलको नाम चर्चामा छ । तर, यो पटक भीम रावल मन्त्री बन्ने सम्भावना कम छ । यस्तोमा डोटीमा बहालवाला मन्त्री वीरबहादुर बलायरलाई हराएका आले र कैलाली ५ मा तत्काली प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवालाई पराजित गरेका रानाको नाम चर्चामा छ । आले जिल्लामा विकासप्रेमी नेताका रूपमा स्थापित छन् । उनलाई मन्त्री बनाउनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि लबिङमा छन् । वरिष्ठ नेता नेपालसँगै आले प्रधानमन्त्री ओलीका पनि विश्वासपात्र मानिन्छन् । उनी दोस्रो संविधान सभा निर्वाचनपछि पनि मन्त्री बन्ने चर्चामा थिए ।

त्यसै गरी कैलाली ५ का सांसद रानाले आफूले प्रधानमन्त्री पत्नीलाई हराएको भन्दै मन्त्रीका लागि लबिङ गरिरहेका छन् । उनले राज्यको सारा शक्ति लगाउँदा पनि आफूले प्रधानमन्त्री पत्नीलाई हराएको जिकिर गरिरहेका छन् । तर, उनीमाथि विगतमा रातो पासपोर्टको दुरुपयोग गरेको आरोप लागेको छ । ओलीले विवादमा परेका व्यक्तिलाई नलिने बताइरहेका बेला रातो पासपोर्ट काण्डले रानालाई केही अफ्ठेरो पार्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *