निर्वाचन आयोगले साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने

काठमाडौं, असार २७ । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही २०७४ साल साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसअघि २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आ–आफ्नो स्थायी बसोवास भएको जिल्लाको निर्वाचन कार्यालयमा आफू स्वयम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ ।

आयोगबाट यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन पनि यही समयमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७४ को पर्यवेक्षण गर्न अनुमतिप्राप्त संस्था निर्वाचन पर्यवेक्षण मञ्च नेपालबाट खटिएका पर्यवेक्षकहरूले आयोगद्वारा जारी पर्यवेक्षण आचार संहिता विपरित कार्य गरेको पाइएको भन्दै निर्वाचन पर्यवेक्षण गर्न प्रदान गरिएको अनुमति र उक्त संस्थाबाट खटिएका पर्यवेक्षकहरूलाई जारी गरिएका परिचयपत्र समेत रद्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *