चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

काठमाडौं, फागुन २८ । बोक्सी आरोपमा कैलालीको घोडाघोडीकी राधा चौधरीलाई चरम यातना दिने रामबहादुर केही महिनाअघिसम्म पापड र चटपट बनाएर बिक्री गर्दथे । तर आजभोलि आफूलाई झाँक्री र ‘भोलेबाबा’ भनेर चिनाउने उनले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन् ।

समाचारमा लेखिएको छ- टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन् ।

उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए । रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन् । टाढा-टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन् ।

भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन् । उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन् । घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए । ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ । विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने ।

भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आˆनो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन् ।

रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार-पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो । उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए । पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन् ।

भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए ।

देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन् । त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *